काठमाडौँ : एसीसी महिला एशिया कप क्रिकेटमा नेपालले कमजोर ब्याटिङ र बलिङ प्रदर्शन गरेपछि पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ।
श्रीलंकाको दाम्बुला अन्तरराष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रनमात्र बनाउँदै पाकिस्तानलाई जितका लागि १०९ रनको लक्ष्य दिएको थियो।
पाकिस्तानले १ विकेटमात्र गुमाएर ८ ओभर १ बल खेल्न बाँकी रहँदै ११० रन बनाएर खेल सजिलै जित्यो।
उसका लागि ओपनर जोडीले नै शतकीय साझेदारी गरे। ओपनर गुल फिरोजाले ३५ बलमा १० चौका प्रहार गर्दै ५७ रनको अर्धशतकीय पारी खेलिन् र पाकिस्तानलाई जितको नजिक पुर्याइन्। उनलाई १२औँ ओभरको दोस्रो बलमा कविता जोशीले कविता कुँवरको हातबाट क्याच आउट गराइन्।
अर्की ओपनर मुनिबा अलीले ३४ बलमा ८ चौका हान्दै अविजित ४६ रन बनाएर पाकिस्तानलाई जिताइन्। तुबा हसन १ रनमा अविजित रहिन्। पाकिस्तानले ६ अतिरिक्त रन पायो।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले शुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाएपछि गतिलो स्कोर बनाउन सकेन।
नेपालका लागि कविता जोशीले अविजित रहँदै सर्वाधिक ३१ रनको योगदान गरिन्। २३ बलको सामना गरेकी उनले ४ चौका र १ छक्का प्रहार गरिन्।
सिता रानामगरले २६ तथा पूजा महतोले २५ रन जोडे। रुबिना क्षेत्रीले ८ रन जोडिन्।
नेपालकी बिग हिटर सम्झना खड्काका रुपमा नेपालको पहिलो विकेट खस्यो। उनले ५ बलमा १ चौका हान्दै ४ रनमात्र बनाइन्। उनलाई फातिमा सानाको बलमा नासरा सन्धुले क्याच गरिन्।
४ ओभर ४ बल खेल्दा ३० रनको कुल स्कोरमा नेपालको दोस्रो विकेट खसेको थियो। १३ बलमा ३ चौका हान्दै १३ रन बनाएर कविता कुँवर आउट भइन्। उनलाई सादिया इकबालले विकेटकिपर मुनिबा अलीबाट क्याच आउट गराइन्।
यसपछि क्रिजमा आएकी कप्तान इन्दु वर्मा फेरि पनि असफल भइन्। नेपालको ३० रनकै कुल स्कोरमा उनी खाता खोल्न नपाउँदै सादिया इकबालको बलमा गोल्डन डक हुँदै पवेलियन फर्किइन्।
पाकिस्तानका लागि फातिमा सनाले २ विकेट र सादिया इकबालले १ विकेट लिए।
टस जितेर पाकिस्तानले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा उत्रिएको थियो।
समूह ए मा रहेको नेपालले यसअघि खेलेको पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो। पाकिस्तानलाई पनि पराजित गरेको भए नेपाल पनि ४ अंक जोड्दै सेमिफाइनल पुग्ने सम्भावना थियो।
पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले नेपाललाई हराएर पहिलो जितसँगै २ अंक जोडेको छ भने आजको खेलबाट उसको नेट रनरेट पनि सुधार भएको छ।
समूह ए मा भारतले दुई खेलबाट ४ अंक र नेपाल तथा पाकिस्तानले २ खेलबाट २/२ अंक जोडेका छन्। यूएई अझै अंकविहीन छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।