४४ स्थानीय तह जित्ने दावी

|

काठमाडौं : पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अपेक्षित नतिजा नआएको विश्लेषण गरेको नेकपा माओवादी केन्द्र असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनमा केन्द्रित भएको छ। दुई नम्बर प्रदेशका १ सय २७ स्थानीय तहमा हुने निर्वाचनमा धेरै स्थानमा जित हासिल गर्न नेतृत्व पंक्ति पनि त्यसै क्षेत्रमा केन्द्रित भएका छन्।

प्रचण्डसहितका शीर्ष नेता जनकपुरमा

दुई नम्बर प्रदेशको चुनावी तयारीकै क्रममा माओवादी केन्द्रले सोमबार जनकपुरमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल पनि पुगेका छन्।

मधेशका आठ जिल्लामा रहेका ६०० बढी अगुवा नेता, कार्यकर्ताहरु प्रशिक्षणमा सहभागी हुने सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य डाचाराज वाग्लेले बताए। केन्द्रीय सदस्य, जनवर्गीय संगठनका प्रतिनिधि र सम्भावित उम्मेदवार प्रशिक्षणमा सहभागी हुनेछन्।

संगठनको अवस्था

२०७३ को जेठमा सानाठूला गरी १० घटक एकता भए पनि मधेसका आठ जिल्लामा माओवादी केन्द्रले एकता सम्मेलन गर्न सकेको छैन। माओवादी हेडक्वार्टर सदस्य मातृका यादव सो प्रदेशका संयोजक हुन्। केही नेताहरुले संयोजककै कारण एकता भेला हुन नसकेको आरोपपनि लगाएका छन्। मधेसमा एकता भेला पनि नभएको र जिल्लाहरुमा गुट उपगुट बढ्दै गएको केन्द्रीय सचिवालय सदस्य तथा धनुषाका नेता महादेव यादवले बताए।

धनुषाका नेता जगत यादव भन्छन्–‘जिल्लामा केन्द्रीय सदस्य कति बनाउने भन्ने टुंगो लगाउन सकिएन। आकांक्षीहरु धेरै भए। त्यसकारण पनि एकता भेला गर्न सकिएन।’ करिव एक बर्षसम्म संगठनलाई व्यवस्थित आकार दिन नसकेको माओवादी केन्द्रले मधेसका आठ जिल्लामा अहिले चुनाव परिचालन समितिको नाममा जिल्ला समन्वय समिति गठन गरेको छ। केन्द्रीय सदस्यहरुलाई त्यसमा राखिएको छ।

चुनाव नजिकिँदै गएका कारण विवाद गर्ने समय नरहेको भन्दै नेता जगत यादवले थाहाखबरसँग भने–‘हामी सबै पार्टीका मान्छे हौं, पार्टी रहे मात्र हाम्रो पनि अस्तित्व रहन्छ। त्यसकारण सबै विवाद र समस्याहरु थाँती राखेर चुनावका लागि एकजुट भएका छौं। पार्टी सदस्य भएका कारण पार्टीको नीति निर्देशन मान्नु सबैको पहिलो दायित्व हो।’

कहाँ कति जित्ने दावी?

सात नगरपालिका र १० गाउँपालिका गरी १७ स्थानीय तह रहेको सिरहामा ८ वटासम्म जित्न सक्ने माओवादीको आँकलन छ। पार्टी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र सिराहा-५ मा पर्ने मिर्चैया नगरपालिका, कर्जन्हा गाउँपालिका र गोलबजार नगरपालिकामा माओवादी जित्नेमा ढुक्क रहेको नेता जगत यादव बताउँछन्।

सिराहाकै धनगढी नगरपालिका, लाहान नगरपालिका, अर्नामा गाउँपालिका लगायतका स्थानीय तहमा माओवादी संगठन र समर्थन राम्रो रहेका कारण जित्न सकिने आँकलन माओवादीको छ।

त्यसैगरी धनुषा जिल्लामा रहेका १७ स्थानीय तहमा संगठनको अवस्था राम्रो रहेको कारण माओवादीले लाज मान्नुपर्ने गरी नतिजा नआउनेमा ढुक्क रहेको नेता महादेव यादवले बताए। थाहाखबरसँग कुरा गर्दै नेता यादवले भने ‘अहिले नै यति र उति स्थानीय तह जितिन्छ भन्दै हिँड्नु गलत हो। हामीले राम्रोसँग मिहिनेत गरेर जानुपर्छ।’

सर्लाहीमा रहेका १७ वटा स्थानीय तहमध्ये ७ स्थानीय तहमा माओवादीले नतिजा हासिल गर्ने नेता डाचाराज वाग्लेले जानकारी दिए। प्रदेश नम्बर २ मा सिरहा, धनुषा, सर्लाहीसँगै बारा, पर्सा, रौतहट, महोत्तरी र सर्लाही जिल्ला रहेका छन्। सबै जिल्लामा गरी ४० देखि ४४ स्थानीय तहमा जित हासिल गर्ने अनुमान रहेको सचिवालय सदस्य जगत यादवले बताए। साउन पहिलो हप्ता भएको सचिवालय बैठकमा नेता मातृका यादवले पनि ४४ स्थानसम्म जित्न सकिने रिपोर्ट पेश गरेका थिए।

एक हप्ताभित्र उम्मेदवारको टुंगो

माओवादीले एक हप्ताभित्र दुई नम्बर प्रदेशमा रहेका आठ जिल्लाका १२७ स्थानीय तहमा उम्मेदवारको अन्तिम टुंगो लगाउने जनाएको छ। ‘केही स्थानीय तहमा उम्मेदवार छनोट भइसकेको छ’ थाहाखबरसँग कुरा गर्दै पूर्व कानुन मन्त्री तथा सिरहाका नेता अजयशंकर नायकले भने ‘एक हप्ताभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्ने सल्लाह भएको छ।’

उम्मेदवार टुंगो लगाउनका लागि माओवादीले सम्बन्धित जिल्लाका पोलिटव्यूरो स्तरका नेताको कमिटीलाई जिम्मा दिएको नेता नायकले जानकारी दिए। पोलिटव्यूरोले तय गर्न नसकेको खण्डमा र कतै केही विवाद आएमा प्रदेश कमिटीले हल गर्ने र त्यसो हुन नसकेमा हेडक्वार्टरले नै त्यो समस्या हल गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.