‘अर्थ नबुझी विद्यालयको ऐतिहासिक छविमाथि प्रहार नहोस्’

|

काठमाडौं : पछिल्लो समय प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा अनेकथरी ‘ट्रोल’ बनाउनेको लर्को छ। कसैको चरित्र हत्या गर्ने त कसैको नाममा अनेकथरी तस्विरसहित जोडेर फेसबुकमा पोष्ट गर्ने गरिएको छ।

अहिले सामाजिक सञ्जालमा यस्तै ट्रोलको शिकार भएको छ–‘गजेडी माध्यमिक विद्यालय।’ 

यसको अर्थ र ऐतिहासिकता नै नबुझी सामाजिक सञ्जालमा अनेकथरी नाम जोडेर प्रचारप्रसार गर्ने क्रम नरोकिएपछि विद्यालयले विज्ञप्ति नै जारी गर्न बाध्य भएको छ।

सोमबार जारी विज्ञप्तिमा भनिएको छ,‘वास्तविक र ऐतिहासिक तथ्यहरूलाई नबुझी आफ्नो अयोग्यतालाई प्रदर्शन गर्दै यस विद्यालयको नाममा आधारित भई सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र फेसबुक पेजहरूले भ्रामक, कपोलकल्पित तथा अनर्गल प्रचार गरी विद्यालयको ऐतिहासिक छविमा प्रहार अनि बदनाम गर्न खोजिएको विषयप्रति सिङ्गो विद्यालय परिवार घोर भर्त्सना गर्दछ, आज उपरान्त कहीँ कतैबाट कोही कसैले यस प्रकारका आपत्तिजनक क्रियाकलाप गरेमा विद्यालय प्रशासन साइबर कानुन अनुसार कारवाही गर्नका लागि सम्बन्धित निकायमा जाने निर्णय गरेको समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

यस्तै, अर्को दुई विद्यालय ‘गर्भवती आधारभूत विद्यालय’ र ‘गोलखाडी’ माध्यमिक विद्यालय’को साइनबोर्ड पनि बेला बेला सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ। पाँचथरको तुम्बेवा गाउँपालिका-१, स्थित आङ्नामा २०५७ सालदेखि श्री गर्भवती आधारभूत विद्यालय सञ्चालनमा छ भने धनकुटाको साँगुरीगढी गाउँपालिका–७ मा २०१८ सालदेखि  गोलखाडी माध्यमिक विद्यालय सञ्चालित छ। 

यसरी राखियो विद्यालयहरूको नाम

रुपन्देहीको कञ्चन गाउँपालिका २ स्थित २०१९ देखि सञ्चालित गजेडी माध्यमिक विद्यालयका प्रधानाध्यापक रेश्मी वाग्लेका अनुसार नेपाली शब्दकोशमा ‘गज’ को अर्थ ‘हात्ती’ हुन्छ। यसरी ‘गज’ आधार पदमा ‘डी’ जोडिएर गजेडी शब्दको व्युत्पादन भएको मानिन्छ। 

‘स्थानीय थारू भाषामा ‘गजेडी’ को शाब्दिक अर्थ ‘हात्तीको बासस्थान’ भन्ने बुझिन्छ, यहाँका शिक्षाप्रेमी र बुद्धिजीवीका अनुसार साविक गजेडी गाउँबाट गजेडी स्कुलको नामाकरण भई सोहीअनुसार गजेडी गाउँपञ्चायत र बहुदलपछि गजेडी गाविस रहन गएको हो,’उनले भनिन्।

तर गजेडीलाई लागूऔषध गाँजा सेवनसँग जोडेर ट्रोल गर्ने गरिएको छ। 

नेपाली शब्दकोष अनुसार गर्भवतीको अर्थ गर्भधारण गरेकी, पेट बोकेकी, भुँडी बोकेकी, गर्भिणी र दोजिया महिला भन्ने हुन्छ। तर, गर्भवती आधारभूत विद्यालय नामाकरण गरिनुको पनि ऐतिहासिक अर्थ छ।

तुम्बेवा गाउँपालिका-१, का वडाध्यक्ष धनबहादुर कार्की देवीको नामबाट यो विद्यालयको नामाकरण गरिएको बताउँछन्। गर्भवती आधारभूत विद्यालयका प्रधानाध्यापक खड्ग तामाङका अनुसार त्यही विद्यालय नजिकै दुई वटा थुम्का छन्।

उनी थाहाखबरसँग भन्छन्,‘त्यो थुम्का हेर्दा पाथी भरेको जस्तो हामी देख्छौँ,त्यहीँ दुई थुम्कामुनी गर्भवती देवीको मन्दिर छ। त्यही  मन्दिरको नामबाट विद्यालयको नामाकरण गरिएको दस्तावेज छ।’

उनका अनुसार पहिला गर्भवती देवी आधारभूत विद्यालय नामाकरण गर्ने सल्लाह भएको थियो। ‘तर,शिक्षा कार्यालयमा दर्ता गर्दा धेरै लामो भयो विद्यालयको नाम,त्यसैले देवी हटाउनुपर्छ भनेपछि हटाइएको हो,’उनले भने।

गोलखाडी माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक हरिलाल साहका अनुसार गाउँकै नाम गोलखाडी भएको कारण स्कुलको नाम पनि गोलखाडी नै राखिएको हो।

उनले भने,‘पहिलाका बुढापाकाको भनाइ अनुसार पहिले त्यहाँ गोल (कोइला) पोल्ने मानिसहरूको बसोबास रहेछ, त्यही गोल पोल्ने मानिसको बसोबासका कारण गाउँको नाम नै गोलखाडी भनिन थालियो,त्यसैले विद्यालयको नाम पनि गोलखाडी माध्यमिक विद्यालय राखिएको हो।’

उनका अनुसार विद्यालय मात्रै नभएर एउटा सामुदायिक सिकाई केन्द्रको नाम पनि गोलखाडी सामुदायिक सिकाई केन्द्र नाम राखिएको छ।

अर्थ नबुझी ऐतिहासिक छविमा प्रहार !

गजेडी माध्यमिक विद्यालयका प्रधानाध्यापक वाग्लेले कसरी विद्यालयको नाम राखियो भन्ने नबुझी नामको आधारमा विभिन्न सामाजिक सञ्जालमा टिप्पणी गर्ने कार्यले ऐतिहासिक छविमा प्रहार गरिएको भन्दै गुनासो पोखिन्।

‘जब विद्यालयमा नयाँ भर्ना गर्ने समय आउँछ त्यसपछि नानाथरी भिडियो,फोटो जोडेर हाल्ने,कमेन्ट गर्नेजस्ता बदनाम गर्ने काम गरिएको छ,जसले गर्दा हामीलाई धेरै तनाव हुन्छ’,उनले भनिन्, ‘त्यसैले यस्तो कार्य बन्द गरियोस्, कुरा नबुझी विद्यालयको ऐतिहासिक छविमा प्रहार गर्ने र बदनाम गर्ने नगरियोस्।’

उनका अनुसार उक्त विद्यालयमा हाल करिब ७ सय विद्यार्थीहरू अध्ययनरत छन्। यहीबाट २०८० को माध्यमिक शिक्षा परीक्षा(एसइई) मा ४५ प्रतिशत उत्तीर्ण हुन सफल पनि भए। गर्भवती आधारभूत विद्यालयका प्रधानाध्यापक तामाङ पनि त्यसै हचुवाको भरमा विद्यालयको नाम बदनाम गरिएको बताउँछन्।

‘हामी हिन्दु धर्म मान्ने मान्छे देवीदेवताप्रति विश्वास गर्छौं,त्यसैले देवीको नामबाट यो विद्यालयको नामाकरण गरिएको हो,तर सामाजिक सञ्जालमा भने अनेकथरी लेखेर,व्याख्या गरेर बदनाम गर्ने काम भइरहेको छ,यो कार्य राम्रो होइन,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.