|

काठमाडौँ : कर्णालीस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब विशिष्टीकृत चिकित्सकहरू पनि उत्पादन गर्ने भएको छ।

केही वर्ष अघिसम्म काठमाडौँ नेपालगन्ज सुर्खेत लगायतका ठूला शहरका अस्पतालमा बिरामी पठाउने कर्णालीले अहिले हरेक वर्ष एमबीबीएस डाक्टर उत्पादन गर्दै आएको यो प्रतिष्ठानले अब विशेषज्ञ चिकित्सकहरूलाई पढाउने लक्ष्य राखेको हो।

हाल ५० सिट एमबीबीएस कार्यक्रम सञ्चालन गरेको कर्णाली प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षातर्फको पोष्ट ग्राजुएट (पीजी) तहको विशिष्टीकृत चिकित्सा शिक्षातर्फको अध्ययन विधालाई अझै बढाउने लक्ष्य राखेको हो। सोही योजनाअनुसार प्रतिष्ठानले अहिले पीजी तहका ७ वटा विषयको पाठ्यक्रम तयार गर्दै छ।

प्रतिष्ठानले एनाटोमी, फिजियोलोजी, माइक्रोबायोलोजी, बायो केमेस्ट्री, फरेन्सिक मेडिसिन, फर्माकोलोजी र क्लिनिकल प्याथोलोजी गरी सात विषयको पाठ्यक्रम तयार गर्दै छ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने‚ ‘सातवटा विषयको पाठ्यक्रम निर्माण गर्दै छौँ। यो वर्ष कम्तिमा ६ वटा विषय थप्ने योजना हो। पहिले नै हामीले पाँच विषयमा क्लिनिक विषयमा अध्ययन गराइसकेका छौँ।’

त्यसो त प्रतिष्ठानले हाल चारवटा स्कुलबाट विभिन्न १३ वटा स्वास्थ्यका अरू शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रतिष्ठानका डीन डा प्रेणितकुमार पोखरेलले योजना गरिएका नयाँ विषयका पाठ्यक्रमलाई अन्तिम रूप दिने अवस्थामा पुगेको भन्दै अब अर्को वर्षदेखि राष्ट्रिय चिकित्सा आयोगसँग अध्ययन गराउन सिट माग गरिने बताए।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले भने पीजीतर्फको पाठ्यक्रमको फ्रेमवर्क आयोगले बनाउने भन्दै त्यसभित्र रहेर नयाँ पाठ्यक्रम बनाउनुपर्ने बताएका छन्। उनले स्वास्थ्य शिक्षाको विषयमा गुणस्तर चाहिने भन्दै यसमा आयोगले सम्झौता नगर्ने हुँदा आयोगको पाठ्यक्रमको फ्रेमवर्कमा रहेर प्रतिष्ठानले पाठ्यक्रम बनाउनुपर्ने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.