सर्लाही : सर्लाहीको लखन्देही खोलामा वडाध्यक्षले खनेको खाल्डोमा डुबेर मंगलबार अपरान्ह एक बालिकाको मृत्यु भएको छ।
वडाध्यक्षलाई कारबाहीको माग गर्दै आफन्तले बालिकाको शव उठाएका छैनन्। खोलामा खनिएको गहिरो खाल्डोमा डुबेर कविलासी नगरपालिका–१ पिपरियाका सदिम शेखकी १३ वर्षीया छोरी सेहानी खातुनको मृत्यु भएको हो।
घरबाट १ किलोमिटर पश्चिम रहेको खोलाबाट बालुवा ल्याउने क्रममा बालिकाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ। उनीसँगै घरका अन्य दुई बालिका रसिदा र खुस्बु पनि डुबेकोमा स्थानीयले उद्धार गरी निकालेको स्थानीय शेष सहदुल्लाहले जानकारी दिए।
उनका अनुसार कविलासी नगरपालिका–५ का वडाध्यक्ष गिरीधारी रायले चारदिन अघि खोलामा खाल्डो बनाएर सिंचाईका लागि कुलो लगेका थिए। वर्षाको समय अर्थात असार, साउन र भदौ तीन महिना खोलामा स्काभेटरको प्रयोगमा रोक लगाइए पनि वडाध्यक्ष रायले त्यसको बेवास्ता गर्दा घटना घटेको स्थानीयको भनाइ छ।
उनले वर्षाको बेला बालबालिका खोलामा जानु गलत रहेको बताए। आफूहरूका कुनै गल्ती नभएको दावी गर्दै वडाध्यक्ष गिरीधारीले यसको कुनै प्रकारको दोष नलिने जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।