काठमाडौँ : सौर्य एयरको जहाज आज काठमार्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै ठिक ११ बजेर १३ मिनेटमा दुर्घटनाग्रस्त भयो।
सिसी टिभी फुटेज हेर्दा जहाज बायाँ मोडिएर ढल्किएको र एउटा पंखा जमिनमा जोतिँदै केही पर पुगेर खाल्डोमा खसेको देखिन्छ।
भिडियो हेर्दा उडान गर्ने बित्तिकै जहाजले जति उचाइ लिनुपर्ने हो त्यो लिन सकेको देखिँदैन। त्यस विषयमा प्राविधिक कारण अनुसन्धानपछि खुल्दै जाला तर एउटा गम्भीर प्रश्न खडा भएको छ, त्यो के भने मर्मतका लागि विमान किन पोखरा लगिँदै थियो?
देशका सबै विमानस्थलमा रहेका जहाजहरू मर्मत गर्नुपरे काठमाडौँ ल्याइन्छ। कुनै विमानमा केही खराबी आए बीचैबाट मोडेर काठमाडौँ नै फर्काउने चलन छ किनभने, हरेक हिसाबले काठमाडौँमा सुविधायुक्त, दक्ष प्राविधिक र पर्याप्त श्रोतसाधन छ।
तर सौर्य एयरको ९-एन एएमई जहाज भने मर्मतका लागि भनेर काठमाडौँ छाडेर पोखरा लान खोजियो। किन? अम-सर्वासाधारणको प्रश्न पनि यही छ। जहाज लैजाने/नलैजाने विषयमा उनीहरूबीच गम्भीर छलफल भएको हुनुपर्छ, त्यो पनि अनुसनन्धानपछि नै खुल्ने विषय हो।
लैजाने मत बलियो भयो र दुर्घटनामापर्यो । जहाज दुर्घटनामा पाइलट मनिषरत्न शाक्यबाहेक सबै १८ जनाकै मृत्यु भएको छ। दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। अघिल्लो भागमा आगोले नभेट्दा पाइलट बाँच्न सफल भए। मृत्यु हुने सौर्य एयरकै कर्मचारी र इन्जिनियर तथा उनका आफन्तहरू रहेका जनाइएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले भने पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको दावी गरिन्।
“जहाजमा कुनै खराबी आएर नभइ निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उनले भनेकी छिन्, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न ल्याउन लागिएको हो।”
तपाईंको ईमेल गोप्य राखिनेछ ।