|

काठमाडौँ : चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले सरकारले चाहे तत्काल चलचित्र ऐन पारित हुनसक्ने बताएका छन्।

बिहीवार चलचित्र विकास बोर्डमा दुईवर्षे कार्यकाल सकिएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले आफूमाथि धेरैले ठूलो अपेक्षा राख्नु स्वाभाविक भए पनि बोर्डको अधिकारभन्दा माथि गएर काम गर्न नसकिने बताए।

उनले चलचित्र ऐन पारित भएर आएपछि ९० प्रतिशत समस्या समाधान हुने बताए। अहिले अर्थ मन्त्रालयमा ऐन पुगेको र चाँडै नयाँ चलचित्र ऐन आउने बताए। 

‘मसँग मेरा साथीभाइहरुले अपेक्षा धेरै नै गर्नुभयो‚ म कलाकार भएको हिसाबले स्वाभाविक नै हो। तर बल्ल यहाँ आएर थाहा भयो कि विकास बोर्डमा थोरैमात्र अधिकार छन्‚’ उनले भने, ‘चलचित्र ऐन २०२६ सालदेखिको ऐनमा चलचित्र क्षेत्र चलिरहेको छ‚ त्यसलाई परिवर्तन गरी नयाँ ऐन बनाउनुपर्छ, त्यो ऐन पास भए चलचित्रका सबै समस्याहरु ९० प्रतिशत समाधान हुन्छन्।’

उनले आफूले कलाकारका दुःख र समस्या बुझेको भन्दै सीमित अधिकारका कारण चाहे जति पनि काम गर्न नसकेको बताए। 

‘तर जति गर्दा पनि मन्त्रालयमै गएर रोकिन्छ‚ मन्त्रीज्युहरु आएर भन्नुहुन्छ, हामी गरिदिन्छौँ। मैले यहाँ आएर पहिलो दिनदेखि नै ऐन पास गर्न कोशिस गरेँ‚’ उनले भने, ‘अहिले कम्तिमा सञ्चार मन्त्रालयबाट अर्थ मन्त्रालयसम्म त पुगेको छ। सरकारले चाहे तत्काल हुन्छ। विकास बोर्डबाट गर्ने काम हामीले सबै गरेका छौँ।’

उनले चलचित्र विकास बोर्डलाई सीमित मात्र अधिकार हुने भएकाले प्रयास जारी राख्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.