काठमाडौं : देशकै जेठो त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा बारम्बार गल्ती दोहोरिरहनेमध्येकाे अर्को हो- प्रश्नपत्र हुबहु निर्माण। बारम्बार हुबहु प्रश्नपत्र सोधिने समस्या क्रम अझै रोकिएको छैन।
हिजो (बिहीबार) त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको नेपाली विषयको स्नातकोत्तर पहिलो सेमेष्टरको ‘संस्कृत काव्यशास्त्र’को प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको पाइयो। जुन प्रश्न गत वर्ष सोधिएको थियो। त्यही प्रश्न यो वर्ष पनि सोधियो।
नेपाली केन्द्रीय विभागका अनुसार दुई सेट प्रश्नपत्र बनाएर डीन कार्यालयलाई दिइएको थियो‚ डीन कार्यालयले पुरानो प्रश्नपत्र प्रिन्ट गर्यो। यसरी दुई वर्षको अवधिमा सम्बन्धित डीन,कर्मचारीचाहरूको गम्भीर लापरबाहीका कारण पाँचपटक प्रश्नपत्र हुबहु सोधिएको छ।
२०७९ को जेठ १८ गते (त्रिवि) को मानविकी संकायको अर्थशास्त्र विषयको स्नातकोत्तर तह तेस्रो सेमेष्टरको ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरन्याशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो। यो विषयको सन् २०२१ र सन् २०२२ सञ्चालित परीक्षाको प्रश्नपत्र एउटै थियो। खाली प्रश्नपत्रको क्रममात्र तलमाथि गरियो।
त्यसैगरी २०७९ असार २२ मा सञ्चालित बीबीए छैटौं सेमेष्टरको ‘एमजीटी २०३ः अर्गनाइजेशन बिहेभियर’ को परीक्षामा मोडर्न नेपाल कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नपत्र बाँडेको पाइयो। २०७९ असार २५ गते पनि त्रिवि व्यवस्थापन संकायले सञ्चालन गरेको बीबीए छैटौं सेमेष्टरको नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको परीक्षामा समाजशास्त्रको पाँचौं सेमेष्टरको प्रश्नपत्र बाँडेको पाइएको थियो।
‘प्रश्नपत्र बनाउने शैली परिवर्तन नगरिँदा समस्या दोहोरिरह्यो’
शिक्षाविद् प्राडा विद्यानाथ कोइराला त्रिविले यसरी पटक–पटक प्रश्नपत्र हुबहु सोध्नु गम्भीर लापरबाही भएको र प्रश्नपत्र बनाउने शैली परिवर्तन नगरिँदासम्म यस्तै समस्या दोहोरिरहने बताउँछन्।
‘विश्वविद्यालय अनुदान आयोगले क्वालिफिकेशन फ्रेमवर्क बनाएको छ, त्यसमा बिए पास हुनेको कति हुनुपर्छ, ज्ञान, सीप र अभिवृद्धि पक्ष कस्तो हुनुपर्छ जस्ता क्षमता हेर्न फ्रेमवर्क बनाएको छ, यो कार्यान्वयन भए समस्या आउँदैन’, उनले भने।
उनका अनुसार त्रिविमा प्रश्नपत्र बनाउने निश्चित मान्छे छन्। ती व्यक्ति अहिलेसम्म छन्। ‘नयाँ मान्छेहरूले बनाउन पाउँदैन, यसको घातक परिणाम अहिले आएको हो, नयाँ व्यक्तिलाई पनि प्रश्न बनाउने प्राथमिकता दिए नयाँ प्रश्न बनाउँछन्, विवाद निस्किँदैनथ्यो’, उनले भने।
उनका अनुसार यस्ता विवाद समाधान गर्न लोक सेवा, शिक्षक सेवा, त्रिवि सेवा आयोगले जसरी एकजनाबाट ५ थरीका अब्जेक्टिभ र सब्जेक्टिभ प्रश्न खोज्छ, यसैगरी त्रिविमा पनि लागू गरी प्रुफिङ गर्ने र प्रश्न छनोट गर्नुपर्छ। यसो गर्दा प्रश्नपत्र दोहोरिँदैन।
परीक्षा मर्यादित गराउने प्रतिबद्धता वचनमै सीमित
त्रिविको चर्को आलोचना भएपछि २०७९ असार २६ गते त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले एक विज्ञप्ति जारी गर्याे।
उक्त विज्ञप्तिमा असार २२ र २५ गते सञ्चालित परीक्षाको प्रश्नपत्र सम्बन्धी कार्यमा मर्यादाविपरीत कार्य गरेको पाइएको भन्दै उक्त प्रश्नपत्र निर्माणमा संलग्न व्यक्तिहरूलाई परीक्षा समितिको निर्णयअनुसार त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५०, परिच्छेद ६ (ग) को व्यवस्था अन्तर्गत कारबाही गरिएको भनिएको छ। तर को कसलाई के कारबाही भयो भन्ने त्रिविले सार्वजनिक गरेन।
उच्चस्तरीय समिति गठन गरिएको पनि भनियो तर केही प्रतिवेदन सार्वजनिक भएको पाइएको छैन। त्यस वेला नै त्रिविले परीक्षालाई मर्यादित गराउने कुरामा प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा यस सम्बन्धी कार्यमा संलग्न शिक्षक, विद्यार्थी, कर्मचारी एवं समाजका सबै वर्गबाट सल्लाह सुझाव एवं सहयोगको अपेक्षा राखेको बताएको थियो।
उक्त प्रतिबद्धता पत्र र वचनमै सीमित बन्यो। यस विषयमा कुरा गर्न त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजाल र मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीनलाई पटक पटक कल गर्दा पनि सम्पर्कमा आउन चाहेनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।