|

काठमाडौं : नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरूलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ।

नेपथ्य छैठौं पटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको हो। ब्याण्डले यसपालाको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सात वटा फरक फरक शहरका भव्य मञ्चहरूमा आफूलाई प्रस्तुत गर्नेछ।

सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर शहरमा आफुलाई उभ्याउने छ। अग्ला पर्वत, नदी र जंगलहरूले घेरिएको भूपरिवेष्ठित राज्यका रुपमा चिनिने कोलोराडोमा उल्लेख्य संख्यामा नेपालीहरूको बसोबास छ। यस स्थानमा नेपथ्यले पहिलोपटक साँगीतिक पाइला टेक्न लागेको हो। डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोशेली प्रस्तुत गर्नेछ।

त्यसपछिको दोश्रो प्रस्तुती अमेरिकाको पश्चिमी तटकै समृद्ध शहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ। क्यालिफोर्निया राज्यको यसै शहरस्थित यसै हलमा आठ वर्षअघि पनि नेपथ्यले आफूलाई उभ्याइसकेको छ।

तेश्रो प्रस्तुतीको निम्ति भने ब्याण्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ। त्यहाँस्थित ‘केम्बा लाईभ कन्सर्ट भेन्यू’मा ब्याण्डले अगस्त १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। यो शहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ।

त्यसपछिको चौथो कन्सर्टका लागि ब्याण्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ। उक्त राज्यको सबैभन्दा घना आवादी भएको शहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुनलागेको हो। यसपालि ब्याण्डले ‘टोयोटा म्युजिक फ्याक्ट्री’ मा आफुलाई उभ्याउँदैछ। विशाल एवं भव्य यो आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकहरूलाई अगस्त २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्याण्डले लिएको छ।

त्यसपछि भने ब्याण्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको शहर न्युयोर्कमा पुग्नेछ।  अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपाला भने बेग्लै हल ‘टर्मिनल फाइभ’ मा आफ्ना लोकरक धुनहरू पस्कने छ। त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ।

न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्याण्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ। त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्याण्डले लाईभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाईभ!’ को प्रेक्षालयमा आफुलाई प्रस्तुत गर्नेछ।

यसरी अमेरिकाका फरक फरक शहरहरूमा आफुलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग शहर पुग्नेछ। ब्याण्डको लागि यो शहर पनि पहिलो अनुभव बन्ने भएको छ। यसै शहरको ‘द फोरम अडिटोरियम’ मा अमेरिकाको श्रृंखलावद्ध यात्राकै अन्तिम अर्थात् सातौं कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ। झण्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केष्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो।

नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डिसिमा आफुलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो। त्यसपछिका वर्षहरूमा ब्याण्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा साँगीतिक प्रस्तुती दिइसकेको छ।

गत वर्ष मात्रै छेवैको क्यानाडामा श्रृंखलावद्ध साँगीतिक यात्रा गरेको ब्याण्डले अमेरिकामा भने कोभिड महामारीपछि यो पहिलो यात्रा गर्नलागेको हो। यसपालाको अमेरिका यात्राको संयोजन ‘डिजे मोमो इन्टरटेनमेन्ट’ले गरिरहेको छ।

कलाकार, प्राविधिक र ब्यवस्थापन सम्मिलित नेपथ्य टोली अमेरिका यात्राको अन्तिम तयारीमा जुटेको छ।

अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाईनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाईएको छ। त्यसका लागि नेपथ्यको अधिकारिक वेबसाइट nepathya.com.np  मार्फत् आफ्नो सिट सुरक्षित गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.