|

काठमाडौँ : किरात वाम्बुले राई समुदायले आठौँ बाँसुरी दिवस मनाएका छन्। मंगलवार वाम्बुले राई समाज, नेपाल (वाम्रास) को आयोजनामा ‘किराती लोक परम्पराको निरन्तरता’ नारासहित उनीहरूले बाँसुरी दिवस मनाएका हुन्।

ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोलस्थित सामुदायिक भवनमा भएको उक्त कार्यक्रममा उनीहरूले मादलसहित राम्दले भाकामा बाँसुरी, बिनायो र मौलिक लोकभाका सालमाया सालाङ (गीत) प्रस्तुत गरेका थिए।

बाँसुरीवादक जीवन राई, संगम राई र श्याम राईले राम्दले भाकामा बाँसुरी बजाएका थिए भने मोतीलाल राई र विष्णुमाइला राईले मादल बजाएका थिए। कोपिला राई, सीता राई, सावित्री राई, सुमित्रा राई, प्रेमकुमारी राई, झरना राईलगायतले बिनायो बजाए।

गायक बुद्ध राई, राज राई र गायिकाहरू बसन्ता राई, रिमी राई, अम्बिका राई, एलिना राईले सालमाया भाका गाएका थिए। गायनमा विष्णु माइला र बाँसुरीमा जीवन राईले साथ दिएका थिए। कवि मन्जित राईले वाम्बुले कविता प्रस्तुत गरे।

कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लोप हुँदै गइरहेका लोकभाकाहरू संरक्षणमा वाम्बुले समुदाय जुटेको भन्दै खुशी व्यक्त गरे।

उनले भने, ‘यहाँ बाँसुरी, बिनायो, सालमाया भाका गाएर वाम्बुले राईहरूलाई मात्रै चिनाउनु भएन जनजातिहरू जिउँदै छौँ भन्ने आधारमा प्रस्तुति दिनु भयो, अहिले प्रतिष्ठानले यस्ता लोकभाका, कला संस्कृतिको अध्ययन गरिरहेको छ, यसमा पनि हाम्रो साथ सहयोग रहन्छ।’ 

कार्यक्रमका विशेष अतिथि राष्ट्रगानका रचनाकार व्याकुल माइलाले मौलिक लोकबाजाहरू बिर्सिने अवस्था रहेको र संरक्षणका लागि यस्तो अग्रसरता आवश्यक रहेको बताए।

‘बाँसुरी दिवस यो आफैँमा महत्वपूर्ण छ, सम्मानका साथ सबैले सहयोग गर्नुपर्छ, हाम्रो परम्परा, संस्कृतिको संरक्षणका लागि जसरी युवापुस्ताहरू लाग्नु भयो यसैगरि अझै युवापुस्ता जोडिन र लाग्नु आवश्यक छ,’ उनले भने।

वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईले वाम्बुले राई समुदायको मौलिक लोकभाकालगायत अन्य ऐतिहासिक परम्परा र संस्कृतिहरूको संरक्षण वाम्रासले गर्दै आएको बताए।

‘हामी यसअघिदेखि नै यस्ता कार्यक्रम आयोजना गरेर मौलिक संस्कृतिको जगेर्ना गर्दै आएका छौँ, यस वर्ष झनै राष्ट्रिय कलाकारहरूको प्रस्तुतिबाट नयाँ इतिहास रचेका छौँ। अब झनै यो संस्थाले समिति नै बनाएर वाम्बुले कलाकारहरूलाई सम्मान गर्दै आगामी दिनहरूमा अन्य लोप हुँदै गएका वाम्बुले समुदायका लोक भाकाहरू संरक्षण गरिनेछ।’ 

कार्यक्रम संयोजक एवं वाम्रासका केन्द्रीय उपाध्यक्ष गणेश वाम्बुले राईले बाँसुरी दिवसको ऐतिहासिक महत्व र थालनीबारे प्रस्तुति दिएका थिए।

वाम्रासले किराती लोक परम्परालाई संरक्षण र पुस्तान्तरण गर्न २०७४ सालदेखि प्रत्येक वर्षको साउन १५ गते बाँसुरी दिवस तथा खीर खाने कार्यक्रम आयोजना गर्दै आएको उनले जानकारी दिए।

उनका अनुसार उपत्यकामा मात्र नभई ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको मितेरी भञ्ज्याङमा पनि स्थापनाकालदेखि नै बाँसुरी दिवस मनाउँदै आएका छन्।

वाम्बुले भूगोलमा बजाइने बाँसुरी, मुरली, बिनायो, मादलजस्ता बाजाहरूको संगीत विज्ञान र विधिसम्मत ढंगले प्रवर्द्धन गर्न, लोकभाकाहरूको पुस्तक प्रकाशन गर्न पनि यो कार्यक्रम आयोजना गर्दै आएको उनको भनाइ छ।

उनले भने, ‘हामी नै हाम्रो लोक परम्पराको संवाहक हौँ, हामीले नयाँ पुस्तालाई लोक परम्परातर्फ आकर्षित तुल्याउन पनि निरन्तर बाँसुरी दिवस मनाउँदै आएका छौँ, यो निरन्तर रहिरहन्छ,’ उनले भने।

उनका अनुसार साउन १५ गतेकै दिन यो दिवस मनाउनुको पनि कारण छ। वाम्बुले राईहरूको सामाजिक जीवनमा साउने संक्रान्तिदेखि १५ दिन प्रकृति अर्थात् भगवान गुफा बस्छन् भन्ने लोकमान्यता छ। त्यसैले होहल्ला गर्नु हुँदैन। बाजागाजा बजाउनु हुँदैन।

सुइसुला गर्नु, गीत गाउनु हुँदैन। नङ, कपाल काट्नु हुँदैन। कपाल कोरेर भुइँमा झार्नु हुँदैन। किराती बाजाहरू बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा, यलम्बर (टुङबाजा), पिपिरी, पुङ, ढोल, झ्याम्टा बजाउनु हुँदैन।

‘जब साउन १५ लाग्छ तब भगवान उपवास सकेर बाहिर निस्कन्छन्, त्यस दिनदेखि विशेष रहरका साथ तन्नेरी युवा, वयस्कहरू नयाँ बनाएका र अगेनुमाथिको बलोमा सिउरेर राखेका पुराना बाँसुरी झिकेर पाखापर्वत, खोला शृंखला नै गुन्जायमान हुने गरी बजाउँछन्,’ उनले भने, ‘महिलाले बिनायो बजाउँछन्, वनपाखाभरि गाई, बाख्रा चराउँदै बाँसुरी, मुरली, बिनायो खिप्ने र बजाउने चलन छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.