|

काठमाडौँ : खाद्य तथा पोषण सुरक्षामा ठूलो योगदान पुर्‍याएको धान, मकै र गहुँपछिको चौथो महत्त्वपूर्ण खाद्यान्न बाली कोदोको खेती ओझेलमा परेको छ। 

सानादेखि ठूला होटल तथा रेस्टुँरामा कोदोको परिकारका पारखी प्रशस्तै भेटिन्छन्। स्वास्थ्यका दृष्टिकोणले पनि कोदोको उपयोगको महत्त्व बढेकाले खपत धेरै हुन थालेको छ तर व्यावसायिक रूपमा कोदोखेती हुन नसक्दा नेपालले वर्षेनि करोडौँ रुपैयाँ कोदो र यसको बीउको आयातमा खर्च गर्नुपरेको छ।

पछिल्लो केही वर्षमा देशभर कोदोजन्य बाली हुने क्षेत्रफल पनि घटेको देखिन्छ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशको कुल खाद्यान्न बालीहरूको क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा ओगट्ने कोदोले ओगटेको कुल क्षेत्रफलमध्ये ९५ प्रतिशत क्षेत्रफल पहाडी भेगमा मात्रै पर्छ। नेपालको तराईदेखि ३‚१०० मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो खेती गरिन्छ। ७७ वटै जिल्लामा कोदो खेती गरिन्छ। सबैभन्दा बढी खोटाङ, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुली जिल्लामा हुने गरेको छ। 

खेती गर्न सजिलो र पौष्टिक अन्नबाली भए पनि यसको व्यावसायिक उत्पादनमा किन जोड दिन सकिएको छैन? जानकारहरू कोदोजन्य बाली संरक्षण एवं विस्तारको कार्य राज्यका निकायको प्राथमिकतामा नपरेको बताउँछन्। नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय कृषि जेनेटिक रिसोर्स सेन्टर (जिन बैंक) का प्रमुख बालकृष्ण जोशी कोदोजन्य बालीलाई खाद्य पोषणमात्र नभई औषधिजन्य बालीका रूपमा लिनुपर्ने बताउँछन्। 

कोदोलाई औषधीय अनाज भन्ने गरिएको बताउँदै उनले यसका बाबजुद अनुसन्धानमा प्राथमिकता नदिइएको बताए। ‘कोदोजन्य अन्नको व्यवसाय ह्वात्तै बढेको छ। खपतसँगै यसको उत्पादन बढाउन शिक्षा, अनुसन्धानमा लगानी भने न्यून छ’‚ बाली प्रजननविज्ञ समेत रहेको जोशीले भने‚ ‘अनुसन्धानकर्ता तथा कोदोसम्बन्धी विज्ञता हासिल गरेका जनशक्तिको अभाव छ र कोदोका बारेमा अध्ययन पनि कम हुने गरेको छ।’

राज्यले कोदोबाली अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान गर्ने, लगानी बढाउने र विज्ञ जनशक्ति उत्पादन गर्नेतर्फ लाग्नुपर्ने भन्दै उनले अन्य कृषि बालीमध्ये कोदो सबैभन्दा राम्रो मानिएको बताए। कोदोजन्य बालीमा दर्जनभन्दा बढी प्रजाति पर्छन्। पछिल्लो समय कोदोबाहेक कागुनो, धानकोदो लगभग हराइसकेका छन्।

पञ्चबोध, पञ्चकार्य एवं श्री–अन्न मानिएको कोदोजन्य बाली खाद्य सुरक्षा, पोषण सुरक्षा, स्वास्थ्य सुरक्षा, वातावरण, व्यवसायको हिसाबले एकदमै राम्रो मानिएको जोशी बताउँछन्। विश्वव्यापी रुपमा पछिल्ला दुई वर्षमा पोषण र स्वास्थ्यमा कोदोजन्य अन्नको उपयोगितालाई लिएर निकै अनुसन्धान भएका छन्। 

कोदोको उत्पादन बढाउन, ठाउँविशेषको जातीय विकास गर्नुपर्नेमा जोड दिन्छन् जोशी। छिमेकी मुलुक भारतमा कोदोजन्य बालीको उत्पादन प्रतिहेक्टर ८ टन सम्म हुने गरेको पाइएको छ। नेपालमा पनि प्राथमिकतामा राखेर कोदोजन्य बालीले मानव स्वास्थ्य, वातावरण, गाईवस्तु एवं सूक्ष्म किटाणुलाई गरेको योगदान अध्ययन गर्दा सबैभन्दा अगाडि रहेको विज्ञले बताए।

नेपालमा कोदोको औसत उत्पादन १.१ टन प्रतिहेक्टर रहेको छ। बाली व्यवस्थापनमा विशेष ध्यान पुर्‍याउन सकिए प्रतिहेक्टर ३ देखि ३.५ टन उत्पादन गर्न सकिने परीक्षणबाट देखिएको छ। ‘कोदोभित्र पर्ने १२ वटा प्रजातिलाई समान रूपमा हेर्नुपर्छ। राज्यले प्राथमिकता दिएर लगानी बढाउन सके कोदो आयात गर्नुपर्दैन, बाली प्रजननविज्ञ जोशीले भने‚ ‘कोदोजन्य खेतीको सम्बन्धमा राष्ट्रियस्तरमै अभियान चलाइनुपर्छ।’

कृषि मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशी पनि कोदोको व्यावसायिक उत्पादन हुन नसकेको स्विकार्छन्। यद्यपि हिमाली र पहाडी जिल्लामा कोदो खेती  प्रवर्धन गर्न संघ, प्रदेशस्तरबाट कार्यक्रम सञ्चालन भइरहेको उनले बताए। ‘कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेशका पहाडी जिल्लामा सशर्त अनुदानमा, स्थानीय तहमा बजेट पठाउने काम भएको छ। त्यहाँबाट बीउ खरिद गरेर किसानलाई दिने, चुट्ने मेसिनमा अनुदान दिने, खेत जोत्न तथा सिँचाइका लागि सहयोग गरिएको छु'‚ उनले भने‚ ‘तर पछिल्लो चरणमा कोदोलगायत रैथाने बालीको पौष्टिक महत्त्व थाहा पाएर पहिलेभन्दा खपत बढेको छ। कोदोजन्य पदार्थ खाने प्रचलनसँगै माग बढ्दा आयात त्यही हिसाबले बढेको देखिन्छ।’

नेपालमा गत आर्थिक वर्षमा मात्र ७५ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरको कोदो आयात भएको भन्सार विभागले जनाएको छ। कोदो र कोदोको बीउ समेत आयात गरिएको हो। आव २०८०।८१ मा २ लाख रुपैयाँभन्दा बढीको कोदोको बीउ खरिद गरिएको छ। यद्यपि नेपालले आयातसँगै निर्यात पनि गरेको छ। गतवर्ष ५ लाख ६७ हजार बराबरको कोदो र ५६ लाख २९ हजार बढीको कोदोको बीउ निर्यात गरेको छ। 

कोदोमा लगानी बढाउन जरुरी रहे पनि त्यसतर्फ कामै नभएको भने होइन। दोलखामा कोदोबाली सम्बन्धी हेर्ने अनुसन्धान केन्द्रले विभिन्न जात विकास गरिरहेको मन्त्रालयका सूचना अधिकारी जोशीले बताए। तर कम क्षेत्रमा धेरै उत्पादन दिने जात विकास गर्न नसकिएको उनी स्वीकार गर्छन्। ‘पुरानै जात लगाइन्छ। विश्वभरी नै हेर्दा, धान, मकै, गहुँ जस्तो धेरै फल्ने जात विकास भएका पाइँदैन।’

राज्यको प्राथमिकतामा पर्न नसक्नुका साथै चामलको भात खाने प्रचलनले जुम्ला, हुम्ला, मुगुका जस्ता कोदो राम्रो हुने फाँटमा पनि धान, मकै लगायत अन्य बालीलाई बढी प्राथमिकता दिइएको उनले बताए। ‘जसले गर्दा १०–१२ वर्षयता कोदोको उत्पादन घटेको जस्तो देखियो। अर्कोतर्फ कोदो उत्पादन बढाउन गुणस्तरीय जात निकाल्नेतर्फ अनुसन्धान पनि हुन सकेको छैन, जोशीले भने‚ ‘तर पछिल्ला एकदुई वर्षदेखि कोदोजन्य अन्नका परिकार रुचाउनेहरू बढेको देखिन्छ। योसँगै कोदोको उत्पादन र क्षेत्रफल विस्तारै बढाउँदै लगिएको छ।’ 

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७६।७७ मा २ लाख ६२ हजार ५४७ हेक्टर क्षेत्रफलमा ३ लाख २० हजार ९५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो। यसैगरी आव २०७७।७८ मा २ लाख ६५ हजार ४०१ हेक्टर जमिनमा ३ लाख २६ हजार ४४३ र आव २०७८।७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा ३ लाख ३९ हजार ४६२ मेट्रिक टन कोदो फलेको थियो। 

कोदोको महत्त्व

कोदोको वैज्ञानिक नाम इल्युसिन कोराकाना हो, र कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा कोदो वर्गमा पर्छन्। नेपाली भाषामा भने कोदो भनेको मसिनो गोलाकार दाना हुने घाँसे परिवारअन्तर्गत पर्ने परम्परागत अन्नबाली बुझिन्छ। यसलाई अंग्रेजीमा फिंगर मिलेट भनिएको छ। पछिल्लो समय सानादेखि ठूला होटल तथा रेस्टुराँमा कोदोको ढिँडो खाने ग्राहक बढेका छन्। 

नेपालमा प्राचीन कालदेखि नै कोदो खाद्यान्नको रूपमा प्रयोग गरिएको पाइन्छ। यसको ढिँडो, रोटी, पुवा, खोले आदि बनाएर खाने गरिएको छ। यसबाट स्थानीयस्तरमा उच्च गुणस्तरको घरेलु मदिरा बनाइनुका साथै, हाल यसको केक, पाउरोटी, बिस्कुट, कुकिज, नमकिन, पफ, डोनट, चाउमिन जस्ता परिकार बनाइने गरिएको पाइएको छ भने पशु आहारमा समेत प्रयोग हुने गरेको छ। कडा परिश्रम गर्नेहरूको पहिलो रोजाइको खाना बनेको छ कोदोको ढिँडो।

कोदोको उपयोग

नेपालका आदिवासी जनजाति समुदायमा कोदोको सांस्कृतिक महत्त्व पनि रहेको छ। चाडपर्व तथा पूजाआजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा समेत प्रयोग हुने गरेको छ। 

कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८.८ गुणा बढी क्याल्सियमसँगै फस्फोरस, कार्बोहाइड्रेट, फलाम पाइन्छ। कोदोमा पाइने प्रोटिनमा दूधमा जस्तै मिथायोनिन र सल्फरयुक्त एमिनो एसिड पाइन्छ। हुर्कँदो उमेरका बालबालिका, गर्भवती महिलाहरूका लागि उत्तम भोजनका रुपमा रहेको कोदो मधुमेह, रक्तचाप, यूरिक एसिड, दम, रुघा, खोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र झाडापखालाका रोगीहरूका लागि पनि फाइदाजनक मानिएको छ। कोदोबाट निकालिएको इन्जाइमको रस छालाबाट रौं हटाउन प्रयोग गरिन्छ। कोदो खाँदा रगतमा बोसो र कोलस्टेरोलको मात्रा घट्ने बताइएको छ। कोदोको नलमा प्रोटिन र खनिज पदार्थ पाइन्छ। 

कहाँ फल्छ कोदो ?

केन्द्रका अनुसार, कम वर्षा हुने क्षेत्रमा, कम उर्वर भूमि, सिञ्चित र असिञ्चित दुवै अवस्थामा कोदो बालीको उब्जाउ हुने गरेको छ। उण्ण र उपोष्ण क्षेत्रमा सफलतापूर्वक खेती गर्न सकिने कोदो तराईदेखि उच्च पहाडी क्षेत्रमा हुन्छ। रूखोदेखि, ज्यादै मलिलो माटोमा पनि कोदो खेती गर्न सकिन्छ, यद्यपि रोप्ने समयमा माटोमा पर्याप्त चिस्यान हुन जरुरी छ। 

सिँचाइ नभएका क्षेत्रमा मनसुन सुरु हुनासाथ कोदो रोप्नुपर्ने बताइएको छ। तराईदेखि मध्य पहाडी भेगसम्म छरुवा वा पाउदुरे कोदो वैशाखमा छरिन्छ भने रोप्ने कोदो ब्याडमा बीउ तयार गरी जेठदेखि साउनसम्म रोपिन्छ। उच्च पहाडी भेगमा चैतवैशाखमा कोदो छर्ने गरिन्छ। सिँचाइ नभएको माटोमा चिस्यान संरक्षण गर्न प्राङ्गारिक मलका रूपमा गोठको मल वा कम्पोष्ट मल प्रयोग गर्न सकिन्छ। 

खेती गरिएको स्थान र जातअनुसार ४ देखि ५ महिनामा कोदो बाली काट्नका लागि तयार हुन्छ। तराई र भित्री मधेशभन्दा उच्च पहाडमा कोदो पाक्न समय लाग्छ। ठिक समयमा रोपेको कोदो तराईमा असोज तेस्रो साता र  पहाडमा कार्तिक दोस्रोदेखि मंसिर दोस्रो हप्तासम्म पाक्छ। कोदो काटेपछि सुकाएर राख्दा ८ देखि १० वर्षसम्म भण्डारण गर्न सकिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.