|
फाइल तस्वीर

चितवन : नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आवमा ३ लाख ४० हजार २६२ जनाको आँखा उपचार गरेको छ।

अघिल्लो आवमा यो सङ्ख्या ३ लाख २१ हजार ६ जना रहेको थियो। अघिल्लो आवभन्दा झण्डै ६ प्रतिशत बढी विरामीलाई अस्पतालले सेवा दिएको हो।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बाह्य शिविरमा ३९ हजार २३ जनाको नेत्र उपचार गरिएको छ। स्कुलमा नै गएर ३५ हजार ४८० जना बालबालिकाको आँखा परीक्षण गरिएको उनले बताए। 

चितवनसहित छिमेकी जिल्लामा अस्पतालमातहतका १७ आँखा उपचार केन्द्रमार्फत आँखाको उपचार सेव दिँदै आएको छ। ती केन्द्रबाट ५२ हजार १४९ जनाले आँखा उपचार गरेका छन्।

 मुख्य अस्पताल रहेको भरतपुरबाट १ लाख ६१ हजार ७७६ जनाले सेवा लिएका छन्। यो अघिल्लो वर्षकोभन्दा ४ प्रतिशतले बढी हो।

सूचना अधिकारी घिमिरेका अनुसार सो अवधिमा ११ हजार ४३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ। अघिल्लो आवमा १० हजार ४१५ जनाले आँखाको शल्यक्रिया गराएका थिए। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठका अनुसार एउटा विशेषज्ञ सेवासहितको अस्पताल, ३ सेकेन्डरी अस्पताल र १७ आँखा उपचार केन्द्र रहेका छन्। 

भरतपुर महानगरपालिका वडा नं १० मा विशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पताल रहेको छ। पर्साको ठोरी, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोती र बाराको सिम्रौनगढमा आँखाको सेकेण्डरी अस्पताल रहेका छन्।

भरतपुरनजिकै आँखाको शहरी क्लिनिक रहेको छ। चितवन, नवलपरासी  (बर्दघाट–सुस्ता पूर्व), धादिङ, तनहुँ, बारा, पर्सा, सर्लाही र सिन्धुलीमा १७ वटा आँखा उपचार केन्द्रमार्फत सेवा दिँदै आएको अध्यक्ष श्रेष्ठले बताए। अघिल्लो आवभन्दा गत आवमा विरामीको चाप बढेको उनले बताए। 

अस्पतालका निर्देशक डा. पुष्पा गिरी श्रेष्ठले शहरसँगै ग्रामीण क्षेत्रमा आँखाका विरामी विभिन्न कारणबाट अस्पतालसम्म आउन नसकेको भन्दै गाउँ-गाउँमा शिविरमार्फत उपचार गर्ने गरिएको बताइन्।

शिविरहरूमा समस्या देखिएका विरामीलाई सेकेण्डेरी अस्पताल र विशेषज्ञ अस्पतालमार्फत थप उपचार सेवा दिने गरेको उनले बताइन्। अहिले नेपालमा उपलब्ध अधिकांश आँखा उपचार सेवा दिन अस्पताल सक्षम रहेको निर्देशक श्रेष्ठको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.