|

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान माहाशाखाले आगामी तीन दिनसम्म विशेषगरी रातको समयमा मुलुकका विभिन्न स्थानमा अझै वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। 

केही दिनयता भएको भारी वर्षाले बाढी तथा डुबानजस्ता समस्या ल्याए पनि आजदेखि सुधारात्मक बन्दै जाने महाशाखाको भनाइ छ। 

महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, “तीन दिन यताको अवस्था हेर्ने हो भने रातको समयमा धेरै पानी परेको थियो, डुबान र बाढीसमेत गयो, आगामी तीन दिन पनि पानी पर्छ तर सुधारात्मक बन्दै जानेछ”, तर देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायजसो रातको समयमा पानी बढी परेको हो।”

महाशाखाका अनुसार आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको स्थान साथै कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। 

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ।

    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.