त्रिशूली : कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका-२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ।
नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।
स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्णरूपमा बगर बनेको छ। “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ’, उनले भने, ‘२०० रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने ४०० रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ।’
केही वर्षअघि निर्माण भएको झोलुंगे पुलमा पनि बाढीले क्षति पुर्याएको छ। पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ। स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति पुग्यो।
तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत संकलन गरेर किसानलाई सहयोग गर्ने बताए। ‘प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ’, उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।