|

जुम्ला : तिला गाउँपालिका-१ रारागाउँमा चार करोड रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ। गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ। 

गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नु पर्नेछ। पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न शुरु भएको छ। आयोजनाका लागि सङ्घीय सरकारबाट विशेष अनुदानअन्तर्गत एक करोड ५० लाख प्राप्त भएको थियो। आयोजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बाट  ९५ लाख र पालिकाले एक करोड १० लाख रुपैयाँ व्यहोर्नेछ। 

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका २६० परिवार लाभान्वित हुनेछन्। तिला-६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नु पर्नेछ। 

यसैबीच, कनकासुन्दरी गाउँपालिका-४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ। पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन्। पूर्वाधार विकास कार्यालयले पुल मूल्यअभिवृद्धि करसहित चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो। यो पुल ३० मिटर लामो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.