|

काठमाडौं : साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान गम्भीर दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भयो। उक्त दुर्घटना नागरिक उड्डयन प्राधिकरणको आर्थिक दबाबबाट प्रभावित  निर्णयप्रति चासो व्यक्त गरिएको छ। 

विमान दुर्घटनाको कारण र सुझावका लागि सरकारले छानविन समितिसमेत गठन गरिसकेको छ। सम्पूर्ण प्राविधिक कारण दुर्घटनाको कारण अनुसन्धानपछि खुल्दै जाला तर एउटा गम्भीर प्रश्न खडा भएको छ, त्यो के भने मर्मतका लागि विमान किन पोखरा लगिँदै थियो?

देशका सबै विमानस्थलमा रहेका जहाजहरू मर्मत गर्नुपरे काठमाडौं ल्याइन्छ। कुनै विमानमा केही खराबी आए बीचैबाट मोडेर काठमाडौं नै फर्काउने चलन छ किनभने, हरेक हिसाबले काठमाडौँमा सुविधायुक्त, दक्ष प्राविधिक र पर्याप्त स्रोतसाधन छ। 

तर सौर्य एयरको ९-एन एएमई जहाज भने मर्मतका लागि भनेर काठमाडौं छाडेर पोखरा लान खोजियो। किन? आम-सर्वसाधारणको प्रश्न पनि यही छ। जहाज लैजाने/नलैजाने विषयमा उनीहरूबीच गम्भीर छलफल भएको हुनुपर्छ, त्यो पनि अनुसन्धानपछि नै खुल्ने विषय हो। लैजाने मत बलियो भयो र दुर्घटनामा पर्‍यो यति सहजै अनुमान लगाउन सकिने कुरा भयो।

पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षणका लागि आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीको भनाइ छ।

“जहाजमा कुनै खराबी आएर नभई निश्चित घण्टा उडेपछि नियमित तालिकाअनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उनले भनेकी छन्, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न ल्याउन लागिएको हो।”

यस घटनाले देशको उड्डयन पूर्वाधारको व्यवस्थापनमा प्राथमिकताको बारेमा बहस सुरु गरेको छ। पोखरा विमानस्थलमा नियमित उडान नभएकाले राजस्व संकलनको लागि सौर्य एयरलाइन्सको विमान मर्मत सम्भारको लागि पोखरा पठाएको शंका गर्न थालिएको छ। पोखरा विमानस्थल चिनियाँ ऋण लिएर बनाइएको हो र यस विमानस्थलबाट राजस्व संकलन गर्न ठूलो दबाब सिर्जना भएको छ। 

लोकतान्त्रिक समाजवादी पार्टीका सदस्य सर्वेन्द्रनाथ शुक्लाले यस विषयमा चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘विमानलाई त्रिभुवन विमानस्थलमा नै मर्मत सम्भार गर्न दिएको  भए दुर्घटनाबाट बच्न सकिन्थ्यो।’

शुक्लाले पिआइएमा राजस्व संकलनको   दबाबहरु सृजना भएको छ जसले  नेपालको उड्डयन क्षेत्रभित्र विभिन्न प्रभाव पर्ने बताएका छन्। अनुसन्धान जारी रहँदा, घटनाले उड्डयन उद्योगमा वित्तीय दबाबभन्दा पनि सुरक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएको छ।

सो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य भने बाँच्न सफल भए। दुर्घटनाका घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा ल्याई सघन उपचार कक्षमा उपचार गरिएको थियो। अहिले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.