काठमाडौँ : गृहमन्त्री रमेश लेखकले डीआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रिया भएकाले त्यही रुपमा लिन आग्रह गरेका छन्।
राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले डीआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन्।
बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डीआईजीलाई २ महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन्।
उनले कर्मचारीहरुको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डीआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताए। उनले केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको बताए। सरुवा गरेर डीआईजीको ठाउँमा डीआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन उनले आग्रह गरे।
‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ‚ बढुवा पनि हुन्छ। निरन्तरको प्रक्रिया हो। सामान्यतया अवधि तोकेको हुन्छ तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ‚’ उनले भने‚ ‘जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ। किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो नि। प्रहरी राम्रो बनाउनु पर्यो। यसलाई सामान्य प्रक्रियाका रुपमा लिइदिनु हुन म हात जोडेर प्रार्थना गर्छु।’
गृहमन्त्री लेखकले सदाचार नीति आवश्यक रहेको भन्दै सरकार यो नीतिलाई पारित गरेर लागू गर्न प्रतिबद्ध रहेको बताए। उनले सदाचार नीति अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।