दाङ : पश्चिम दाङका मौरी पालन व्यवसायलाई मध्यनजर गरी मह उत्पादन प्रसोधन उद्योग सञ्चालनमा आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दाङ र सूर्योदय माहुरी फर्मको लगानीमा तुलसीपुर उपमहानगरपालिका ८ दुधेनामा उद्योग सञ्चालनमा आएको हो।
परियोजनाको ७ लाख ७९ हजार र फर्मको ७ लाख ७९ हजार गरी साढे १५ लाख बढिमा मह उत्पादन प्रशोधन उद्योग सञ्चालनमा आएको प्रबन्धक मधुसूदन केसीले बताए।
उद्योगको भवनबाहेक मेसिनरी सामानहरू १५ लाख ५९ हजार ४ सय बराबरको नेपाल सरकार र फर्मको साझेदारीमा खरिद गरेको र भवन निर्माण १० लाख गरी २५ लाख बढि लगानीमा उद्योग सञ्चालनमा आएको उनको भनाइ छ।
पश्चिम दाङमा रहेका मौरीपालक किसानहरूको महले बजार नपाउँदा घरमै थन्किरहेको अवस्थामा त्यसलाई गुणस्तरीय बनाई बजारमा पठाउनको लागि उद्योग चालन गरेको उनले बताए।
यस्तै उनले आफूहरूले महसँग महबाट स्वास्थ्यको लागि र सौन्दर्य सामाग्रीहरू पनि उत्पादन गरेको समेत बताए।
उनले भने,‘हामीले महलाई मात्र प्राथामिकता दिएका छैनौँ। मौरीको चाका, ज्येष्ठ नागरिकदेखि बच्चाहरूको लागि आयुर्वेद युक्त पौष्टिक, तौल बढाउने, घटाउने, स्याम्पु, साबुन, छालाको लागि स्प्रेलगायत उत्पादन गरेका छौँ। हाम्रो वैदिक हनी प्रोडक्ट डटकम अनलाइन पोटल पनि चालन गरेका छौँ। त्यसैमा हामीले उत्पादन गरेका सामग्रीहरू रहेका छन्। अनलाइनबाट पनि ती सामग्रीहरू अर्डर गर्न सकिन्छ।’
यस्तै उनले अहिले बजारमा मिसावट युक्त मह धेरै हुने भएकाले उद्योगबाट उत्पादन गरिएको मह ५ वर्षसम्म केही नहुनेसमेत बताए। उनका अनुसार यस भन्दा अगाडि परम्परागत रूपमा मह प्रशोधन गरिन्थ्यो। जसले गर्दा त्यो मह छोटै समयमा बिग्रिने अवस्था हुन्थ्यो।
अब उद्योगबाट प्रसोधित गर्दा गुणस्तरीय उत्पादन हुन्छ, त्यो ५ वर्षसम्म केही हुँदैन । उनले भने,
‘हामीले उद्योग सञ्चालन गर्नुको मुख्य उद्देश्य महमा शुद्धिकरणको अभियान र उपभोक्ताले शुद्ध मह प्रयोग गरुन्, भन्ने हो। अहिले बजारमा पाइने मह त्यति गुणस्तर हुँदैन।’
उनका अनुसार अहिले बजारमा पाइने महमा पानीको मात्र धेरै हुँदो रहेछ। प्रसोधन गरेको महमा मेसिनबाट पानीको मात्र कम गर्न मिल्दो रहेछ। अहिले आफूहरू १९ देखि २० सम्म मोस्टर राख्ने गरेको र त्यही आवश्यक पर्ने उनले बताए।
यस्तै, उनले अहिले मौरीको कुट जस्ताको त्यस्तै बिक्री हुने गरेको भएयता पनि त्यसलाई पनि गुणस्तरीय बनाउन लागेको समेत बताए। उनका अनुसार पश्चिम क्षेत्रमा पर्ने तुलसीपुर उपमहानगरपालिकाका केही वडा, दंगीशरण गाउँपालिका, शान्तिनगर र बबई गाउँपालिकामा गरी २ दर्जन बढि किसानहरूले व्यवसायिक रुपमा मौरी पालन गर्दै आइरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।