|

काठमाडौँ : शान्ति प्रक्रियापछिका करिब १८ वर्षमध्ये १५ वर्ष कुनै न कुनै रुपमा सत्तामा रहेको माओवादी केन्द्र अहिले संसदमा प्रमुख प्रतिपक्षी छ। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सत्ता खोसेपछि प्रतिपक्षमा पुगेको माओवादीले अहिले बल्ल जनता र आफ्नो वर्ग सम्झन थालेको छ। 

सत्ताबाट बाहिरिएसँगै पार्टीको गतिविधि सक्रिय बनाएको माओवादीले आगामी निर्वाचन एक्लै लड्नेगरी पार्टी संगठन निर्माण गर्ने निष्कर्ष निकालिसकेको छ।

केही दिनअघि सकिएको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका राम्रा काम जनताकहाँ लिएर जाने निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए।  

‘हाम्रो सरकारले गरेका काम र भ्रष्टाचारविरोधी अभियान अगाडि बढाउन सरकारलाई दबाब दिने, आगामी निर्वाचन एक्लै लड्ने तयारी गर्ने, जसले गर्दा हाम्रा मुद्दाहरू राजनीतिक कार्यदिशा र दृष्टिकोण जनतामा सोझै पुग्न सकुन्‚’ उनको भनाइ छ, ‘चुनावमा गठबन्धन गर्दा कहीँ न कहीँ गठबन्धनभित्रका अरु पार्टीको पनि सन्तुुलन मिलाउनुपर्ने हुनाले हाम्रो विचार सिद्धान्त लाने मौका मिलेको थिएन।’   

सचिव दिननाथ शर्मा सुशासन, समृद्धि र सामाजिक न्यायका साथै जनजीविकाका सवाल नै जनतामा जाने पार्टीको प्रमुख एजेन्डा भएको बताउँछन्। साथै प्रतिगमनविरुद्धको संघर्ष पनि माओवादीका लागि प्रमुख भएको उनको भनाइ छ। 

‘हामीले पहिलेदेखि नै उठाउँदै आएको सुशासनको मुद्दा, समृद्धि र सामाजिक न्याय नै जनतामा जाने मुख्य एजेन्डा हो। अर्को महत्वपूर्ण प्रतिगमनविरुद्धको संघर्ष हुन्छ। प्रतिगामी शक्तिहरू सलबलाउन थालेका छन्। संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने हर्कतहरू देखिन थालेका छन्’, उनले भने, ‘यी सबै हर्कतहरू बुझाउन हामी जनतामा जाने हो। साथमा जनजीविकाका सवालहरू पनि हुन्छन्।’

अब एक हप्ताभित्रमा बस्ने स्थायी कमिटी बैठले जनतामा जाने ठोस र मुर्त कार्यक्रम बनाउने सचिव शर्माले बताए।  

व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भए पनि लामो समय सत्ताको वरिपरी रहनुले पार्टीको अवस्था बिग्रिएको महसुस स्वयं माओवादी नेताहरूले गरेका छन्। यसको नैतिक जिम्मेवारी लिँदै उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा नै दिइसकेका छन्। 

गजुरेलले पार्टीको नैतिक धरातल धुजाधुजा भएको ठहर गर्दै त्यसमा मुख्य जिम्मेवार नेतृत्व तहमा भएकै नेताहरू भएकोले अरुले पनि राजीनामा दिएर फेरि नयाँ शिराबाट पार्टी जगाउनुपर्ने मत राखेका छन्।    

साउन १४ गतेको केन्द्रीय पदाधिकारी बैठकमा गजुरेलले पदबाट राजीनामा घोषणा गरेका हुन्।

‘हामीमध्येमा २० र १९ को फरक होला, खासै फरक छैन। हामीलाई राष्ट्र, जनता र पार्टीकोभन्दा आफ्नै चिन्ताले सताइरहेको छ। पार्टीलाई यो दुर्दशामा पुर्‍याएको हामी सबैको काम–कारबाहीले हो’, उनले भनेका छन्, ‘यसर्थ यसको नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामा अध्यक्षमार्फत स्थायी समितिसमक्ष पेश गरौँ। त्यसपछि स्थायी समितिको विस्तारित बैठक बोलाऔँ। विभिन्न तहमा औपचारिक र अनौपचारिक बहसको संश्लेषण गरेर केन्द्रीय समितिको विस्तारित बैठकबाट औपचारिक निर्णय गरौँ। यो निरन्तरतामा क्रमभंग हुनेछ। पार्टीमा जीवन्त छलफलका शुरूवात हुने परिवेश बन्नेछ।’

पार्टी पतनउन्मुख हुनुको कारण औँल्याउँदै नेता गजुरेलले त्यसलाई सुधारेर फेरि पार्टी र नेतृत्वलाई बलियो बनाउने संकल्प लिनुपर्ने बताएका छन्।

‘ठूलो स्वरमा भन्न सक्नुपर्छ– हामी सबै मिलेर पार्टी र नेतृत्वलाई कमजोर बनाएको हो र अब हामी सबै मिलेर पार्टी र नेतृत्वलाई बलियो बनाउँछौँ। यसो गर्दैगर्दा विगतका त्रुटिलाई सूत्रबद्ध गर्ने, सच्याउन मिल्ने तुरुन्तै सच्याउने र विगतका गल्तीबाट पाठ सिकेर भावी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने हुन्छ।’ 

पार्टीलाई नयाँ गति दिन माओवादीमा नेतृत्व परिवर्तनको बहस पनि छ। नेता गजुरेल यस सवालमा वर्तमान नेतृत्वकै पक्षमा उभिएका छन्।

उनले भनेका छन्, ‘नेतृत्व बदल्दा राम्रो हुन्छ भन्ने कसैलाई लाग्न सक्छ। यसो गरियो भने सरकारले गरेका सकारात्मक कामको अपनत्व हाम्रो हातबाट पर जानेमात्र होइन विरोधी क्याम्पमा हर्षबढाइँ शुरू हुन्छ।’

नेता गजुरेलको अधिकांश तर्कमा माओवादीका अरु नेताहरू सहमत देखिन्छन्। पार्टी सुधार्न विगतमा भएका कमजोरीलाई आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता सचिव शर्मा पनि औँल्याउँछन्।

‘व्यवस्था परिवर्तन गर्ने र देशलाई यहाँसम्म ल्याउने पनि हामी हो। १५/१६ वर्ष सत्तामा बस्ने पनि हामी नै हो’, उनी भन्छन्, ‘धेरै कमी कमजोरी पनि हामीले नै गरेका छौँ। यसलाई आत्मसमीक्षा गर्नुपर्छ।’ 

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमै सक्षम, इमानदार र असल नेतृत्व भएकाले अहिले परिवर्तनको चर्चा भने उपयुक्त नहुने उनको पनि तर्क छ। 

माओवादीको भविष्य

शान्तिपूर्ण राजनीतिमा अवतरणसँगै २०६४ को निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बनेको माओवादी अहिले तेस्रोमा सीमित छ। त्यसयता निरन्तर उसको जनमत घट्ने क्रममा  छ।

०६४ मा २९.५० प्रतिशत मत पाएको माओवादीको मत त्यसपछिका चुनावमा क्रमशः १५ प्रतिशत, १३ प्रतिशत र अहिले ११ प्रतिशतमा झरेको छ। 

हरेक निर्वाचनमा मत घट्दै आएको भए पनि आगामी निर्वाचन भने एक्लै लडेर पुरानै साख फर्काउने माओवादी नेताहरू बताउँछन् तर राजनीतिक विश्लेषक डम्बर खतिवडा भने ०८४ सम्ममा माओवादी नेताहरूले दावी गरेजस्तो माहोल बन्ने सम्भावना देख्दैनन्। 

‘डेमोक्रेसीमा हरेक दलले जनतामा जान्छु, मेरो कुरा भन्छु, मेरो पार्टी ठूलो हुन्छ, मेरो भोट धेरै आउँछ भन्नु त उसको नैसर्गिक अधिकार हो’, उनी भन्छन्, ‘तर दावी गरेरमात्र हुँदैन। त्यसैअनुसारको परिस्थिति पनि हुनुपर्‍यो। म चाहिँ के देख्छु भने अहिल्यै त्यसरी माओवादीको पक्षमा त्यस्तो ठूलो माहोल बन्ने सम्भावना कमै छ।’

अब थप पतनबाट जोगिएर आफूलाई मजबुत बनाउने आधार तयार गर्न विगतको कमजोरीको गहिरो विश्लेषण गरेर नयाँ रणनीति तथा योजना बनाउनुपर्ने विश्लेषक खतिवडा बताउँछन्।

‘जतिखेर उसको सम्भावना थियो, त्यसवेला राम्रो गर्न सकेन। ०६४ मा त उ ठूलो पार्टी भएकै हो नि! त्यसवेला कांग्रेस एमाले सेकेन्ड र थर्ड भए। तर त्यसवेला पछि परेका उनीहरू अर्को चुनावबाट फर्किए‚ माओवादी फर्किन सकेन। प्रत्येक चनावमा भोट घटेकोघट्यै भयो’, उनी भन्छन्, ‘भनेपछि यसको कारण त छ पक्कै। त्यो उसले बुझ्नुपर्‍यो। यसको गहिरो विश्लेषण गरेर नयाँ रणनीतिहरू बनाएर, नयाँखाले योजना बनाएर अघि बढ्न सके भने ठिकै होला। नभए त्यस्तो धेरै सम्भावना देखिन्न।’

अर्का विश्लेषक कृष्ण पोखरेल पनि माओवादीले विगतका कमजोरी सुधार नगरे भविष्य नै संकटतर्फ जाने बताउँछन् तर आत्मसमीक्षा गर्दै सुदृढ, पुनर्गठित र एकीकृत हुँदै गएमा भने माओवादी फेरि प्रभावशाली दल बन्न सक्ने बताउँछन्। 

‘पहिलो कुरा उसले आफूलाई आत्मसमीक्षा गर्नुपर्छ। फर्केर जुन विन्दुबाट यहाँसम्म आयो‚ त्यहीँसम्म आफूलाई रिभिजिट गर्नुपर्छ। र त्यस क्रममा के के कारणले गर्दा अहिलेको अवस्था आयो‚ त्यसको मूल्यांकन गर्नुपर्छ। किनभने सत्ताको वरिपरी घुम्दा उसको जनतासँगको सम्बन्ध टुट्यो, त्यसलाई पुनः जोड्न सक्नुपर्छ’, उनी भन्छन्, ‘साथै माओवादीका विभिन्न घटकहरू सम्भव भएसम्म पुनर्गठित हुनुपर्छ। कुनै समय त माओवादी जनाधार थियो नि, भनेपछि तिनीहरूलाई फेरि एक ठाउँ ल्याएर नयाँ ऊर्जा भर्न सक्यो भने माओवादीको अवस्था विस्तारै राम्रो हुन्छ।’ 

साथै सरकारमा हुँदा गरेका राम्रा कामको प्रचार जनताले बुझ्नेगरी स्पष्ट ढंगले गर्न सकेमा त्यसले पनि माओवादीप्रतिको आमबुझाइमा सकारात्मक प्रभाव पार्ने विश्लेषक पोखरेल बताउँछन्।  

‘सरकारमा हुँदा उसले जे कामको थालनी गरेको थियो। कहीँ न कहीँ त्यसैकारण एकअर्कासँग पानी बाराबारको अवस्थामा रहेका एमाले र कांग्रेस अहिले जति मिठा कुरा गरे पनि सत्तामा हुँदा आफूले गरेका गडबडी र सत्तादोहनको पोल खुल्ने भएर पनि एक भएका हुन्’, उनले भने, ‘यी कुरालाई पनि माओवादीले सशक्त ढंगले सदनमा र जनतासमक्ष उठाउन सक्नुपर्छ। जनतामा एउटा भाष्य त बनेको छ‚ यसलाई अझ बलियो बनाउनुपर्छ।’ 

यसैगरी प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको अडान लिएर संविधान संशोधनको पक्षमा उभिन सके त्यसले पनि माओवादीलाई लाभ नै पुर्‍याउने विश्लेषक पोखरेल औँल्याउँछन्।

‘अहिले संविधान संशोधनको जे कुरा लिएर कांग्रेस एमाले आएका छन्, यसलाई पूर्णतया नकार्नेभन्दा पनि कसरी जाँदा सिस्टमले नै स्थिरता दिन्छ, त्यसरी संशोधन गर्ने अडान राख्नु पर्‍यो अर्थात् त्यो भनेको के हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख केन्द्रमा, प्रत्यक्ष निर्वाचित प्रदेशको कार्यकारी प्रमुख अनि संसद्लाई खर्चिलो परिपाटीको प्रत्यक्ष निर्वाचन प्रणाली हटाएर पूर्ण समानुपातिक बनाउने’, उनी भन्छन्, ‘यी कुराहरू स्पष्ट रुपमा जनतालाई बुझाउन सक्यो भने चाहिँ माओवादी पुनः जागृत हुन सक्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.