|

काठमाडौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा लिएको बताएका छन्।

शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री पौडेलले आम मान्छेहरुमा मौद्रिक नीतिले उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताएका हुन्। 

उनले मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेगरी लचिलो रुपमा आएको बताए। उनले अब अर्थतन्त्र चलायमान र गतिशील हुने बताए। 

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिको सन्तुलनमा मुलुकको अर्थतन्त्रलाई चलाउनुपर्छ भन्ने सरकारको सचेत प्रयास रहेको बताए। 

‘यसपटकको मौद्रिक नीतिको सन्दर्भमा गभर्नरले, राष्ट्रबैंकले अर्थतन्त्रमा जे–जस्ता समस्या देखिएका छन्, तिनको सम्बोधन गर्ने, समाधान गर्ने, मौद्रिक नीतिको सीमाभित्रबाट समाधान गर्ने सम्बन्धमा लचिलो हुनुपर्ने थियो। एक हदसम्म लचिलो भएको छ‚’ उनले भने‚ ‘यसले स्वभावैले अर्थतन्त्रलाई चलायमान गर्न, अर्थतन्त्रलाई गतिशील तुल्याउनका निम्ति र खासगरी उत्पादनको क्षेत्रमा यसले केही इन्करेज गर्नसक्छ भन्ने मान्छेहरुमा आशा, अपेक्षा छ।’

अर्थमन्त्री पौडेलले शेयर बजारमा अपारदर्शी क्रियाकलाप र अनुचित ढंगले प्रभावित गर्ने प्रयास नहोस् भनेर आफूले स्पष्ट रुपमा निर्देशन दिएको बताए। 

उनले कुनै पनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडि बढाउन नियामक निकायलाई निर्देशन दिएको पनि बताए। 

‘शेयर बजार अनुचित ढंगले प्रभावित नगरोस् भन्नेमा होशियार हुनुपर्छ र खासगरी नियामक निकायहरुले यो कुरालाई ध्यान दिनुपर्छ‚’ उनले भने‚ ‘मैले कुनै पनि प्रकारको अपारदर्शी क्रियाकलाप, कुनै पनि प्रकारले शेयर बजारलाई अनुचित ढंगले प्रभावित गर्ने प्रयासहरु हुनुहुँदैन भनेर स्पष्टसँग निर्देशन गरेको छु।’

उनले नियामक निकायलाई शेयर बजारमा अनुचित क्रियाकलाप हुन नदिन आवश्यक सतर्कता र सावधानी अपनाउन निर्देश गरेको जानकारी दिए। 

कुनै पनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडि बढाउन  नियामक निकायले भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरा निर्देशन गरिरहेको छु। शेयरबजार अर्थतन्त्रको ऐना हो‚’ उनले भने‚ ‘नियामक निकायलाई आवश्यक सतर्कता, सावधानी र कुनै पनि प्रकारका अन्यथा क्रियाकलापहरु हुन नपाउन् भन्ने कुरामा होशियारी अपनाउनका निम्ति निर्देशित गरिएको छ।’

उनले सहकारी क्षेत्रमा नियामक निकायको आवश्यकता अनुभूत भएको भन्दै कानूनसम्मत प्रवन्ध गरेर यस क्षेत्रको समस्या समाधान गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.