|

काठमाडौँ : रोमाञ्चक खेलमा इरानले शुक्रवार श्रीलंकालाई पराजित गर्दै काभा महिला भलिबल नेसन्स लिगमा पहिलो सफलता प्राप्त गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा इरानले श्रीलंकालाई ३–२ को संघर्षपूर्ण रुपमा पराजित गर्दै जारी काभा महिला भलिबल नेसन्स लिगमा अंकको खाता खोलेको हो। 

पहिलो दुई सेट गुमाए पनि श्रीलंकाले उत्कृष्ट पुनरामनको संकेत गर्दै तेस्रो र चौथो सेट जित्यो। 

इरानले पहिलो सेट २५–२० र दोस्रो २५–१२ ले सहजै आफ्नो बनाउन सफल भयो तर श्रीलंकाले तेस्रो र चौथो सेट जित्दै खेलमा फर्कने संकेत गर्‍यो। 

दुवै सेट श्रीलंकाले २५–२२ र २५–१३ ले आफ्नो पक्षमा पार्दै उच्च आत्मबल बटुल्यो तर पाँचौँ तथा निर्णायक सेटमा भने श्रीलंकाले तालमेल मिलाउन सकेन। 

यो सेटमा एक समय श्रीलंका १०–१० को बराबरीमा थियो तर यसबीच तालमेल गुमाउँदा इरानले लगातार अंक बटुल्दै १५–११ ले सेट आफ्नो बनायो। 

इरानले आफ्नो दोस्रो खेलमा पहिलो जितको स्वाद चाख्दा दुई खेल नै खेलको श्रीलंकाले भने दुवैमा पराजित हुँदै जितविहीन रहेको छ। 

यसअघि पहिलो खेलमा इरान भारतसँग ३–१ र श्रीलंका आयोजक नेपालसँग ३–० को सोझो सेटमा पराजित भएका थिए। 

यससँगै ५ राष्ट्र सम्मिलित काभा महिला भलिबल नेसन्स लिगमा २ खेलबाट इरानले २ अंक र श्रीलंकाले पनि २ खेलबाटै १ अंक जोडेको छ। 

यसअघि आफ्नो पहिलो खेल जितेको नेपालको एक खेलबाट ३ अंक छ भने भारतले आज भएको दोस्रो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै २ खेलबाट ६ अंक जोडेको छ। 

नेपालले भने दोस्रो खेल शनिवार भारतसँग नै खेल्नेछ। 

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष स्थानमा रहने टोली र चौथो हुने टोली तथा दोस्रो स्थानको टोली र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ। 

नेपालसहित ५ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता साउन २३ गतेसम्म हुनेछ। प्रतियोगितामा नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले खेल्दै छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.