|

झापा : जिल्लामा दैनिक ३ लाख रुपैयाँका सुपारीका बिरुवा बिक्री भएका छन्। सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन्।

दुई महिनामा एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन्।

सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष नीलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए।

‘बर्खाको समयमा किसानले सुपारीका बिरुवा रोप्ने गरेका छन्’, तिवारीले भने‚ ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ।’

मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायण रिजालले यसपालि सुपारीका बिरुवाको माग धान्न हम्मेहम्मे भएको बताए। जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ। उनले यसपालिको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए। असारसम्म १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उनले जानकारी दिए। बिक्री भएका १० हजार बिरुवाबाट उनले १२ लाख आम्दानी गरेका छन्।

किसानले सुपारीका बिरुवा प्रतिगोटा रु. एक सयदेखि १२० सम्ममा किन्ने गरेका छन्। ‘सहकारीले उत्पादन गरेका बिरुवासमेत खरिद गरेर किसानलाई बेच्दै आएको छु’, उनले भने, ‘मागअनुसारको बिरुवा उपलब्ध गराउन गाह्रो भइरहेको छ।’

सुपारीका बिरुवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित बिरुवा प्रयोग नगर्न उनले आग्रह गरे। केही वर्षयता धान र चियाखेती मासेर किसानले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उनको भनाइ छ। हात्तीलगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा सुपारीतर्फ आकर्षित भएका हुन्।

खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ। नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो सङ्ख्यामा सुपारीका बिरुवा उत्पादन गरेर बेच्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.