कार्बन उत्सर्जनले २०८५ सम्म २६ प्रतिशत उत्पादन घट्ने
कार्बन उत्सर्जनले २०८५ सम्म २६ प्रतिशत उत्पादन घट्ने
कोलकाता : हाम्रो भान्सामा पाक्ने परिकारमा आलु मन नपराउनेहरू सायदै होलान्। प्रायः सबैजसो भान्सामा तरकारीको मुख्य नायक आलु हुने गरेको छ, यद्यपि कसैलाई आलु मन नपर्न पनि सक्छ र स्वास्थ्यका लागि लाभदायक नहुने पनि हुन्छ। तर आलुविनाको तरकारी ? यस्तो धेरैलाई लाग्छ।
यही आलुले पूर्वी भारतको राजनीतिलाई तताइदिएको छ। पश्चिम बंगालमा खानाका परिकारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको आलु मांसाहारी र शाकाहारी व्यञ्जनमा हाल्ने गरिन्छ। यस राज्यमा आलु नभएको व्यञ्जनले कुनै अर्थ नराख्ने बताइन्छ। कोलकाता शहर, जहाँ बिरयानीमा पनि आलु मिसाएको पाइन्छ। यही आलुले गर्दा अहिले पूर्वी भारतमा राजीनितक माहोल तातेको छ।
आलु र राजनीति
पश्चिम बंगालले छिमेकी राज्य उडिसा, असम र झारखण्डमा तत्कालका लागि आलु पठाउन रोकिदिएको छ। बंगालले आलु निर्यातमा लगाएको प्रतिबन्ध १५ दिनदेखि जारी छ। जसका कारण २० रुपैयाँमा पाइने एक किलो आलुको भाउ ५० रुपैयाँ नाघेको बिबिसीले जनाएको छ।
सरकारले पश्चिम बंगाल र मुख्य गरी कोलकातामा आलुको भाउ आकासिएकाले यस्तो कदम चालिएको बताएको छ। यो सिजनमा सामान्यतया आलुको मूल्य २० रुपैयाँ प्रतिकिलो रहने गरेकोमा अचानक भाउ बढेर ५० रुपैयाँसम्म पुग्यो। पश्चिम बंगाल सरकारले प्रतिबन्ध लगाइदिएपछि आलुको खेप लिएर उडिसा, असम, झारखण्ड गइरहेका ट्रकहरू राज्यको सीमामै रोकिएका छन्।
पश्चिम बंगालको यो निर्णयले झारखण्ड र उडिसा जस्ता राज्यमा आलुको मूल्य बढेको छ भने असम र छत्तीसगढमा पनि मूल्य प्रभावित भएको छ। उडिसा सरकारले व्यवसायिक संगठनका प्रतिनिधिहरूसँग बसेर आलुको मूल्य कसरी नियन्त्रण गर्ने भनेर सल्लाह समेत गरेको छ।
उडिसाका खाद्य तथा नागरिक आपूर्तिमन्त्री कृष्णचन्द्र पात्राले उडिसाले अब बंगालबाट कहिल्यै आलु खरिद नगर्ने घोषणा समेत गरेका छन्। मुख्यमन्त्री मोहनचरण माझीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग यसबारेमा छलफल गरे पनि समस्या सुल्झिएको छैन।
उडिसामा आलुलाई लिएर गर्माएको राजनीतिको असर विधानसभाको सत्रमा पनि देखियो। आपूर्तिमन्त्री पात्राले आफ्नो प्रदेश आलुका लागि पश्चिम बंगाल र प्याजका लागि महाराष्ट्रमाथि पूर्ण निर्भर रहेको बताउँदै अब उत्तर प्रदेशसँग आलु मगाउने प्रयास गरिरहेको र पश्चिम बंगालसँग निर्भरता कम गर्न लागेको बताए।
भारतमा सबैभन्दा धेरै आलु उत्पादन गर्ने राज्यको सूचीमा उत्तर प्रदेश पहिलो र पश्चिम बंगाल दोस्रो स्थानमा छन्। पूरै देशमा हुने आलुको उत्पादनको ३० प्रतिशत उत्तर प्रदेशमा र २२.९७ प्रतिशत पश्चिम बंगालमा हुने गरेको छ। कृषि विभाग पश्चिम बंगालको तथ्यांकअनुसार प्रदेशमा वर्षेनि करिब ११० लाख टन आलु उत्पादन हुन्छ, त्यसमध्ये ५ लाख टन प्रदेशमै खपत हुन्छ।
राज्यका कृषिमन्त्रीले प्रदेशबाहिर आलु पठाउन रोक लगाउनुको मुख्य कारण राज्यमै आलुको भाउ आकासिनु भएको दाबी गरेका छन्। पश्चिम बंगालमा ६०६ वटा कोल्ड स्टोरेजमा ४० लाख टन आलु भण्डारण गरिएको बताइएको छ।
आलुको कथा
आठ हजार वर्ष पहिले दक्षिण अमेरिकाको एन्डिजमा आलु खेती शुरु गरिएको थियो। अहिले चीन, भारत, रूस, युक्रेन आलुका प्रमुख उत्पादक देश हुन्। आलुलाई लिएर यी देशबीच घनिष्ठ र जटिल सम्बन्ध छ।
सन् १५०० पछि आलु युरोपमा ल्याइयो, जहाँबाट पश्चिम र उत्तरतर्फ फैलियो। खाद्य इतिहासकार रेबेका अर्लका अनुसार आलु विश्वभरमा हुन्छ र सबै मान्छेले यसलाई आफ्नो मानेका छन्। संसारको सबैभन्दा सफल प्रवासी आलु कुन ठाउँमा उत्पत्ति भयो भनेर कसैले वास्ता गर्दैन र यसको कथा कुनै देश या भौगोलिक क्षेत्रमा सीमित हुन सक्दैन।
चामल, गहुँ र मकैपछि आलु संसारको चौथो सबैभन्दा महत्त्वपूर्ण खाद्यवस्तु हो। गैरअन्नमा यसको नाम पहिलो नम्बरमा छ। आलुको सफलताको आधार यसमा भएको पौष्टिकता, खेतीमा सहजता र जमिनमुनि रहनसक्ने भएकाले हुन्। पेरुको राजधानी लिमाको एउटा उपनगरमा रहेको इन्टरनेशनल पोट्याटो सेन्टर (सिआइपी) मा आलुसँग सम्बन्धित हरेक प्रकारको अनुसन्धान भेट्न सकिन्छ। लिमाभन्दा करिब १ हजार किलोमिटर दक्षिण पूर्वमा टिटिकाका लेक नजिक आलुको खेती गरिएको थियो। त्यसपछि पहाडमा बस्ने इंकासहित स्थानीय समुदायको महत्त्वपूर्ण खाना बन्यो।
सन् १५३२ मा स्पेनको आक्रमणले इंका समुदायलाई समाप्त पारिदियो तर आलुको खेती समाप्त पार्न सकेन। स्पेनका मान्छेहरूले टमाटर, एभोकाडो र मकै लिएर गएजस्तै आलुलाई पनि आन्ध्र महासागर पारि लिएर गए। इतिहासमा पहिलोपटक आलु अमेरिकाबाट बाहिर गयो। इतिहासकार यसलाई दि ग्रेट कोलम्बियन एक्सचेन्ज भन्छन्।
एन्डिजबाट लगिएको सुरुवाती जातहरू स्पेन र युरोपका मुख्य भागमा उब्जाउन सजिलो भएन। आनुवंशिकी वैज्ञानिक हर्नन ए.बर्बानोका अनुसार एन्डिजमा आलुका बिरुवाले दिनमा १२ घण्टा घाम पाउँथे। युरोपमा गर्मीका लामा दिनले आलुका बोटलाई असर गर्यो र गर्मी महिनामा बढ्न सकेनन्। शरद ऋतु र हिउँदे मौसममा आलुका बोट बाँच्न कठिन थियो। युरोपमा आलुको खेतीको पहिलो दशक असफल रह्यो।
आयरल्यान्डमा आलुले निकै राम्रो मौसम पायो। त्यहाँको चिसो तर हिउँरहित मौसममा उब्जाउ तयार हुने पर्याप्त समय मिल्यो। किसानहरूले त्यहाँ गर्मीको सुरुवातमा तयार हुने आलुको जात विकास गरे। यहीँबाट आलु किसानको मुख्य बाली बन्यो।
पौष्टिक खाना
भिटामिन ए र डी बाहेक आलुमा सबै प्रमुख भिटामिन र पौष्टिक तत्व पाइन्छ। आलुमा भएको गुणस्तर अन्य बालीमा नभएको बताइन्छ। बोक्रासहितको आलुसँग दुग्धजन्य उत्पादन मिलाएपछि स्वस्थ मानव आहार तयार हुन्छ। १०० ग्राम आलुमा दुई ग्राम प्रोटिन पाइन्छ।
१६ औं शताब्दीको आयरल्यान्डमा उपभोगका केही अनुमानले प्रतिदिन ५.५ किलोग्राम आलु आपूर्ति भएको देखाउँछ। १७ औं र १८ औं शताब्दीमा एक एकड जग्गामा आलुको खेती र एउटा गाईको दूधबाट ६ देखि ८ जनाको परिवारलाई वर्षभरको भोजन पुग्थ्यो जुन, अर्को कुनै बालीबाट सम्भव थिएन। आयरल्यान्ड र बेलायतका किसानहरूसँग आलुको अटुट सम्बन्ध बन्यो।
बेलायतबाट आलु पूर्वतर्फ बढ्यो र उत्तरी युरोपसम्म फैलियो। १६५० सम्म बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गसम्म पुगेको आलु १७४० सम्म जर्मनी, प्रुसिया र पोल्यान्ड तथा सन् १८४० सम्म रूसमा पुग्यो। किसानहरूले आ–आफ्नो देशको हावापानी अनुकूलको जात छाँटकाँट गरे र आलु फल्दै अनि फैलिंदै गयो।
संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि एसोसिएशनका अनुसार १८०० को दशकको सुरुवातमा नेपोलियनकालीन युद्ध सुरु हुँदासम्म आलु युरोपको सुरक्षित आहार थियो। इतिहासकार विलियम म्याकनिल १५६० पछि युरोपमा दुई विश्वयुद्धसहित जति पनि युद्ध भए त्यसपछि आलुको क्षेत्रफल बढ्दै गएको बताउँछन्।
आलुको विस्तारपछि युरोप र एशियामा जनसंख्यामा बढोत्तरी भएको दाबी समेत गरिन्छ। १७०० देखि १९०० को अवधिमा संसारभरको जनसंख्यामा भएको करिब एक चौथाइ बढोत्तरी र शहरीकरण आलुको कारण भएको मानिन्छ।
पछिल्ला अध्ययनले भने जलवायु परिवर्तनका कारण आलुको उत्पादनमा असर गर्ने सम्भावना औंल्याएका छन्। कार्बनको उत्सर्जन बढ्दा ईस्वी सन् २०८५ सम्म आलुको विश्वव्यापी उत्पादनमा २६ प्रतिशतले कमी आउने अध्ययनको अनुमान छ।
युरोप, अमेरिका र एशियाका वैज्ञानिकहरू वर्षौदेखि प्रतिरोधी क्षमता भएको आलुको विकास गर्ने प्रयास पनि गरिरहेका छन्। यही प्रयासहरूका कारण २० औं शताब्दीमा आलु वास्तविक रूपमा विश्वव्यापी बाली बनेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।