‘कक्षा-१२ मा नेपाल टप गरे भन्नु भ्रमको खेती हो’
‘कक्षा-१२ मा नेपाल टप गरे भन्नु भ्रमको खेती हो’
काठमाडौँ : कक्षा १२ को नतिजा प्रकाशन भएसँगै यतिखेर सामाजिक सञ्जालमा ‘नेपाल टप’ गरेको दाबी गर्दै विद्यालयहरूले विद्यार्थीको तस्वीरसहित प्रचार गरिरहेका छन्। बधाई दिनेको पनि ओइरो छ।
केही सञ्चारमाध्यमले पोखराका मदरल्याण्ड माविकी सदीक्षा क्षेत्री र एसओएस स्कुलका कुशल तिवारीले समान ३.९६ जिपिए ल्याएर कक्षा १२ को नेपाल टप गरेको भनेर समाचार प्रकाशित गरेका छन्। विद्यालयहरूले पनि कक्षा १२ को नतिजामा उनीहरूले नेपाल टप गर्न सफल भएको भनी दाबी गरेका छन्।
३.९६ जिपिए ल्याउने उनीहरू मात्रै होइनन्। अन्य विद्यार्थीहरूले पनि त्यति नै जिपिए ल्याएका छन्। सामाजिक सञ्जालमा बुटवलको न्यू होराइजन अंग्रेजी आवासीय माविका विज्ञानराज अर्यालले ३.९६ ल्याएको देखिन्छ। उक्त विद्यालयले पनि ‘नेपाल प्रथम’सहित उत्कृष्ट नतिजा ल्याएको भनी दाबी गरेको छ।
विराटनगरको अरनिको आवासीय सेकेण्डरी स्कुलबाट तेजस्वी आचार्य र राकेशकुमार शाहले समान ३.९६ जिपिए ल्याएको सामाजिक सञ्जालमा उनीहरूको तस्वीरसहित पोष्ट गरिएको छ। विराटनगरकै बाल कल्याण विद्यामन्दिर स्कुलका सिर्जन घिमिरेले पनि ३.९६ जिपिए ल्याएको भनी सामाजिक सञ्जालमा देखिन्छ।
यसरी प्रचार गरेर विद्यालयहरूले व्यापारको बाटो बनाएका छन्। राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार कक्षा १२ परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। प्रकाशित नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ९१ हजार ६१ जना विद्यार्थीमध्ये ५२.९१ प्रतिशत उत्तीर्ण भए। ९ हजार ५९१ जनाले ३.६१ जिपिएभन्दा माथि ल्याएका छन्। त्यसैले ३.९६ जिपिए ल्याउने विद्यार्थी एकजना मात्रै छैनन्।
‘नेपाल टप गरे भनेर फुर्ती लगाउनु भनेको भ्रमको खेती गर्नु हो’
शिक्षा अभियन्ता एवं वरिष्ठ शिक्षा पत्रकार प्रकृति अधिकारी ‘नेपाल टप गरे’ भनेर फुर्ती लगाउनु भनेको भ्रमको खेती गर्न जानेको स्कुल रहेको टिप्पणी गर्छन्। उनका अनुसार कक्षा १२ को परीक्षामा धेरै विद्यार्थीहरूले जिपिए ३.९६ प्राप्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कक्षा १२ को परीक्षामा थुप्रैले जिपिए ३.९६ प्राप्त गरेका छन्, हाम्रा विद्यार्थीले नेपाल टप गरे भनेर पोस्ट गरिएको देखियो, टप गर्ने एक्ला कोही छैनन्, ३.९६ जिपिएभन्दा माथि कसैले ल्याएको छैन। तसर्थ नेपाल टप गरे भनेर फुर्ती लगाउनु भनेको भ्रमको खेती गर्न जानेको स्कुल हो र त्यसका सञ्चालकमा उड्दा उड्दैको काग समाउन सक्ने कला छ भन्ने बुझौं, विद्यार्थीको टाउको देखाएर के व्यापार गर्नु र हौ?’
लोकनाथ शर्माले पनि शिक्षामा व्यापार गर्न यसरी प्रचार गर्ने गरिएको बताउँछन्। ‘घरखेत बेचेर भए पनि एउटा निजी स्कुल खोलौँ खोलौँ लागिरहेको छ मलाई पनि’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘यो शिक्षाको व्यापार देख्दा, खेतबारीमा रूख रोपेर हुने नाफाभन्दा स्कुल खोलेर छिटो र नाफा धेरै हुने देखियो, शैक्षिक क्षेत्रको समाजसेवी पनि भइने, नाफा पनि हुने।’
बोर्ड भन्छ : यो विद्यार्थीले नेपाल टप गरे भन्न मिल्दैन
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यालयले यो विद्यार्थीले नेपाल टप गरे भनेर प्रचार गर्नु गलत रहेको बताउँछन्।
उनले थाहाखबरसँग भने, ‘विद्यालयहरूले यी विद्यार्थीले कक्षा १२ मा नेपाल टप गरे भनेर दाबी गर्दै सामाजिक सञ्जालतिर प्रचारप्रसार गरिरहेका छन्। यो गलत हो, कसैले पनि चार जिपिए ल्याएका छैनन्, ३.६१ जिपिएभन्दा माथि ९ हजार ५९१ जनाले ल्याएका छन्, त्यसैले त्यसरी दाबी गर्न मिल्दैन।’
यसरी प्रचारप्रसार गर्दा विद्यालयको नाम चर्चामा आउने लोभमा त्यस्तो दाबी गर्ने गरेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।