|

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्न एमालेका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतवार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन्। 

उनले एमालेले देश र जनताको पक्षमा ठुल्ठूला सफलता अझै हासिल गर्दै जाने जिकिर गर्दै सोहीअनुसारको कामलाई बढावा दिनुपर्ने बताए।

‘इमान्दारिताका साथ अनुशासित ढंगले नेकपा एमालेको हिसाबले तपाईंहरुले काम गर्नुहुनेछ। नेकपा एमालेभित्र पनि कतिपय गलत प्रवृत्तिहरु, बेठिक प्रवृत्तिहरु, विसंगतिहरु देखिएका छन्। ती कुरा सिक्ने होइन‚’ प्रधानमन्त्री ओलीले भने, ‘गुटबन्दीबाट सिक्ने होइन‚ गुटका पछाडि लाग्ने होइन। कसैले यो पक्ष र त्यो पक्ष भनेर त्यस्तो गर्ने होइन। पार्टीको पक्षमा दृढताका साथ उभिने।’

गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल नहुने भएकाले पार्टीका नेता, कार्यकर्ताहरुले त्यसको पक्षमा लाग्न नहुने ओलीको तर्क थियो। 

‘पार्टीका नीति सही छन्, विचार सही छन्। पार्टीले लिएका कार्यक्रम सही छन्। पार्टीले गरिरहेका काम सही छन्। पार्टीले ठिक व्यवहार गरेको छ, ठिक आचरण प्रस्तुत गरिरहेको छ‚’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुरामा विश्वास गर्ने र पार्टीमा निष्ठापूर्वक सक्रियताका साथ काम गर्ने। गुटबन्दी गरेर, पक्ष-विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल हुँदैन। जालझेलको दायरा सानो हुन्छ । सफलताको दायरा फराकिलो हुन्छ।’

प्रधानमन्त्री ओलीले एक एक जालले समुन्द्र समेट्न नसक्ने उल्लेख गर्दै समुन्द्ररुपी एमालेमा पनि गुटबन्दी  र सानोतिनो कुरामा अल्झिएर बस्न नहुने बताए। 

‘जालझेलबाट एकछिन सफलता मिलेजस्तो भए पनि सफलता मिल्दैन‚ त्यो झन् सानो दायरामा खुम्चिन्छ। किनभने जत्रै ठूलो भनेपनि जाल भनेको समुन्द्र समेट्दैन त्यसले‚’ प्रधानमन्त्री ओलीले भने, ‘जालले सिँगै तलाउ समेट्दैन‚ त्यो एक छेउमा हान्ने हो। तसर्थ हामीले वृहत्तर अभ्यास गर्नुपर्छ‚ सानोतिनो कुरामा अल्झिने होइन। म साथीहरुलाई यही आग्रह गर्न चाहन्छु।’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले एमाले प्रवेश गरेकाहरुलाई पार्टीमा इमान्दारिताका साथ काम गर्न पनि आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.