काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
आइतवार कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र पहिलो प्राथमिकता कामलाई दिनुपर्ने बताए। उनले इतिहासमा बोली नभइ काम बिक्ने बताए।
उनले कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको बोली अस्पष्ट भए पनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गरे।
‘तपाईंहरुको निर्णयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि आओस्। अहिले मैले यहाँ भन्दै गर्दा प्रधानमन्त्री र मन्त्रीज्यूहरु‚ मिडियाका साथीहरु पनि यहाँ हुनुहुन्छ‚’ उनले भने, ‘इतिहासमा बोली होइन कर्म बिक्छ। सुशील कोइरालाले जिब्रोको क्यान्सरको अप्रेशनका कारण बोली राम्रो बुझिएन तर उहाँको नेतृत्वमा लेखिएको संविधान त देशले बुझ्यो नि।’
उनले अहिलेको सरकारसँग नेपालीको अपेक्षा धेरै रहेको भन्दै उनीहरुका अपेक्षा सम्बोधन गर्न आग्रह गरे। उनले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर पारित गर्नुपर्ने बताए।
‘यो सरकारसँग नेपालीको धेरै अपेक्षा छ। उनीहरुको अपेक्षालाई सम्बोधन गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्छ‚’ उनले भने‚ ‘सरकारले ती विषयलाई सम्मान गर्नुपर्छ। हामीले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर त्यसलाई अघि बढाउनु पर्छ।’
महामन्त्री शर्माले भ्रष्टाचारका सम्बन्धमा रहेका मुद्दाहरुमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।