काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिर्वतन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन्।
आइतवार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसिएशन (अडान) को १९औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधरणको गिरेको मानसिकता र मनोबल उठेको पाएको धारणा राखे।
उनले मौद्रिक नीतिले गरेको लचिलो नीतिगत व्यवस्थाले उठेको मनोबल निरन्तर लैजान आवश्यक रहेको बताए। उनले गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरुको महत्वपूर्ण भूमिका रहने बताए।
उनले मौद्रिक नीतिका व्यवस्थाहरु सबै आफैँले काम नगर्ने भन्दै सबैको दायित्व रहेको उल्लेख गरे। उनले यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तरराष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याएको बताए।
‘मौद्रिक नीति अन्तरराष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर मौद्रिक नीति ल्याइएको छ। यो वर्ष मौद्रिक नीतिको स्ट्यान्स अलिक लचिलो छ। गत वर्षभन्दा केही नीतिहरु र रेटहरु घटाएका छौँ‚’ उनले भने, ‘मौद्रिक नीतिलाई तादाम्यता मिलाउने क्रममा केही माइक्रोपोटेन्सियल नर्म्सहरु र फाइनान्सियल क्षेत्रहरुसम्बन्धित नीतिहरुमा खुकुलो पारेका छौँ।’
उनले चालू आवको मौद्रिक नीति गत वर्षकोभन्दा लचिलो भएको भन्दै त्यसले बजारमा पार्ने असरका विषयमा राष्ट्र बैंक सतर्क रहेको बताए।
‘राष्ट्र बैंक केमा सतर्क छ भन्दा नीतिगत लचकतास्वरुप माइक्रो पोटेनसियल्स नर्म्समा असर नपरोस्। नकारात्मक प्रभाव नपरोस् भन्ने कुरामा सतर्क छौँ‚’ उनले भने, ‘मौद्रिक नीतिले व्यवस्था गरेको नीतिको असरबाट हामीले बजारमा उद्योगी‚ व्यवसायी, बैंकर्स र सर्वसाधारणमा गिरेको मानसिकता र मनोबल उठेको पाएका छौँ। त्यो उठेको मनोबललाई यसरी नै निरन्तर लैजानुछ।’
गभर्नर अधिकारीले मौद्रिक नीतिले बजारलाई चलायमान बनाउन उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाएको भन्दै राज्यका सम्बन्ध निकायहरुले नीतिअनुरुप कार्यान्वयन गर्न जरुरी रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।