काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन्।
आइतवार लेखापरीक्षकहरूको संस्था नेपाल अडिटर्स एशोसियशन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको उल्लेख गरे।
उनले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउने बताए। उनले मुलुक आर्थिक रूपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकार जनताले उपभोग गर्न नपाउने बताए।
उनले अब सामाजिक र आर्थिक रूपान्तरमा लाग्नुपर्छ भन्नेमा सरकार केन्द्रित रहेको उल्लेख गरे। उनले राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा शिथिलता देखापरेको बताए। अर्थतन्त्रको शिथिलता चिर्दै अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रियाकलापलाई विस्तार गर्ने बताए।
मन्त्री पौडेलले भने‚ ‘मुलुक आर्थिक रूपमा समृद्ध र सक्षम नहुँदासम्म संविधानमा लेखेका अधिकार जनताले उपभोग गर्न पाउँदैनन्। अब सामाजिक र आर्थिक रूपान्तरमा लाग्नुपर्छ भन्नेमा सरकार केन्द्रित छ।’
उनले अडानले मुलुकको आर्थिक क्रियाकलापलाई पारदर्शी, स्वस्थ र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।