काठमाडौँ : काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार बेहोरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा इरानले नेपाललाई ३-२ सेटमा पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो।
लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई हराउँदै इरानले ७ अंक बनाएको छ।
नेपालले इरानविरूद्ध शुरूवात राम्रो गर्न सकेन। तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर बन्यो। नेपालले पहिलो सेट १६–२५ ले गुमायो।
तर दोस्रो सेटमा नेपालले शानदार शुरूवात गर्दै ७–० को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिँदै दोस्रो सेट २५–१६ ले जितेर खेल १–१ को बराबरीमा ल्यायो।
तेस्रो सेटको शुरूवातमा नेपालले ७–२ को अग्रता बनाए पनि त्यसलाई निरन्तरता दिन सकेन। इरानले ९–९ को बराबरीमा पुर्याएपछि यो सेट प्रतिष्पर्धात्मक बन्यो। इरानले तेस्रो सेट २५–२३ ले जित्यो र खेलमा २-१ सेटको अग्रता बनायो।
चौथो सेटमा नेपाल सम्हालिने प्रयास गर्यो। ११–८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो र सहजै चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दा खेल २-२ को बराबरीमा पुग्यो।
खेलको निर्णय पाँचौँ सेटबाट भयो। पाँचौँ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो। इरानले पाँचौँ सेट १५–१३ ले जित्दै नेपाललाई पराजित गर्न सफल भयो।
इरानले ४ खेलबाट ७ अंक बनाउँदा नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंकविहीन छ।
श्रीलंकाद्वारा माल्दिभ्स पराजित
आज भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५–२२, २५–१२ र २५–१२ सेटले सहजै हरायो। लिगमा श्रीलंकाको यो पहिलो जित हो।
श्रीलङ्काले माल्दिभ्समाथि खेलको पहिलो सेट २५-२२ ले जित्यो भने दोस्रो सेट २५-१२ ले आफनो पक्षमा पार्यो।
खेलको तेस्रो सेट २५-१६ ले जितेपछि प्रतियोगितामा पहिलो जित पाएको हो। जितसँगै श्रीलङ्का सेमिफाइनल पुगेको छ। पराजित माल्दिभ्स भने सेमिफाइनल होडबाट बाहिरियो।
श्रीलङ्का यसअघि नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा पराजित भएको थियो। माल्दिभ्स भने यसअघि भारत र इरानसँग ३-० को सेटमा पराजित भएको थियो।
सेमिफाइनलका ४ टोलीको टुंगो
माल्दिभ्सको हारपछि सेमिफाइनलमा पुग्ने ४ टिमको टुङ्गो लागिसकेको छ।
नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनल प्रतिद्वन्द्वी भने लिग चरणका खेल सकिएपछि मात्र तय हुनेछ।
लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ।
भोलि लिग चरणको अन्तिम दुई खेल हुनेछन्। भोलि श्रीलंका र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिष्पर्धा हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।