पर्वत : बिमाबाट रकम पाउने लोभमा आफ्नै पसलमा आगो लगाउने र उनका सहयोगी गरी दुई जना कास्कीको पोखराबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका–१७ ड्यामसाईडका ३६ वर्षीय सुजन गहतराज र बिरौटाका ४३ वर्षीय पवन नेपाल पक्राउ परेका हुन्।
गत साउन १६ गते राति पोखरा-६ नारेश्वरचोक स्थित डा. थानेश्वर पहारीको घरमा भाडामा रहेको मुक्तिनाथ सपिङ सेन्टर प्रा.लि.मा आगो लाग्यो। सुजन गहतराजले पवित्रा अधिकारीको नाममा सञ्चालन गरेको उक्त पसलमा अचानक आगो लागेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीसहित सशस्त्र प्रहरी, दमकल र स्थानीय व्यक्तिहरूले एक घण्टापछि आगो नियन्त्रणमा लिए।
यस्तो खुल्यो अनुसन्धानमा
प्रहरीसँगको बयानका क्रममा सुजनले आफूले पसलमा नयाँ ईनभर्टर जडान गरेको र त्यसैको वायरिङबाट सर्ट भई आगो लागेको बताएका थिए। प्रारम्भिक बयानमा उनले पसलको बिमा नभएको पनि बताएका थिए। लगत्तै प्रहरीले इन्भर्टर आपूर्ति गर्ने व्यापारीसँग बुझ्दा इन्भर्टरको वायरिङमा आगो नलाग्ने बरु जोड्ने बेलामा नै बिग्रिन सक्ने जवाफ पायो।
विद्युत् प्राधिकरणमा बुझ्दा समेत विद्युत आपूर्तिमा कुनै समस्या नभएको जवाफ पाएपछि आगलागीमा मनसाय हुन सक्ने आधारमा कास्की प्रहरीले अनुसन्धान अगाडि बढायो। सुजनले प्रारम्भिक बयानमा पसलको बिमा नगरेको बताएको भए पनि थप अनुसन्धानको क्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड पोखरा न्युरोडबाट उक्त पसलको इन्स्योरेन्स गरेको र साउन १७ बिमा दाबी गरेको पनि खुल्यो।
उनले साउन १७ मा नै आफूले सञ्चालन गरेको मुक्तिनाथ सपिङ सेन्टरमा के कसरी आगो लागेको भनी थप अनुसन्धान गरिदिन वडा प्रहरी कार्यालयमा निवेदन समेत दिएका थिए। अनुसन्धानको क्रममा पसलका सञ्चालक गहतराजले इन्स्योरेन्समा दुई करोड १० लाख बराबरको इन्स्योरेन्स गरेको जवाफ प्रहरीले पायो।
यसरी बन्यो योजना
सुजनको पसल खासै नचलेको र सामान ठूलो मात्रामा स्टक भएको तथा घरधनीसँग समेत भाडा लगायतमा विवाद रहेको हुन्छ।
पवनले सञ्चालन गरेको पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्री फार्ममा गत वर्ष आगलागी हुँदा इन्स्योरेन्स कम्पनीबाट ३१ लाख रुपैयाँ आएको भनी सुजनले सुनेपछि उनी आफ्नै पसलमा आगो लगाउने योजना बनाए। मानिसको चहलपहल नभएको मौका पारेर राति पसलमा आगो लगाउने सल्लाह उनीहरूबीच हुन्छ।
घटनाको दिन राति करिब ११ बजे गहतराजले आफ्ना साथी पवन नेपाललाई बोलाउँछन्। उनीहरूको भेट ड्यामसाइटको फेवा झिर रेस्टुरेन्टमा हुन्छ र त्यहाँ उनीहरूले पाँच वटा बियर पिउँछन्।
योजनाअनुरूप सुजनले चलाउने गरेको ग ३ च ६२६६ नम्बरको गाडीमा गएर सुजन र पवन सपिङ सेन्टरमा भित्र बाहिर गरिरहे। १०-१५ मिनेट भित्र बसेपछि बाहिर निस्किएर सुजनले सटर लगाए। अनिगाडी ‘स्टार्ट’ गरी तालबाराही स्कुलतर्फ लागे। तर पवन भने पसलको बाहिरपट्टि नै बसिरहे।
गाडी तालबाराही स्कुलतर्फ लाग्नै लाग्दा पसल बाहिर बसेका पवनले सलाई बालेर एक्कासि आगो सल्काएर सोही गाडीको पछि–पछि दौडिएर केही पर पुगे।
कस्तो कारबाही ?
प्रहरी नायब उपरीक्षक शर्माका अनुसार उनीहरू दुवै जनालाई ‘आपराधिक उपद्रव’ गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
मुख्य योजनाकार सुजन गहतराज २०७२ सालको साउन २५ मा जिल्ला प्रहरी कार्यालय कास्कीमार्फत नै जुवा मुद्दामा पक्राउ परेका थिए। पवन नेपाल भने हालसम्म यो बाहेकका अन्य मुद्दामा पक्राउ परेको विवरण नदेखिएको प्रहरीले बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।