|

इलाम : कृषि क्षेत्रमा भविष्य देखेका सात युवाको समूह यतिवेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएको छ।  

सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका-२ मा ३०० रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरेका हुन्। १५० रोपनीमा किबी र १५० रोपनीमा लोठसल्ला लगाइएको छ।

कृषि क्षेत्रमा भविष्य देखेपछि सीपी कडरिया, तेजमणि प्रसाईँ, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किबी र लोठसल्लाखेती गर्ने योजना बनेको हो। 

बेरोजगारी घटाउन, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने उद्देश्यले कृषिकर्ममा लागेको कम्पनीका अध्यक्ष सिपी कडरिया बताउनुहुन्छ । ‘राजनीतिकर्मी उत्पादनसँग जोडिन जरुरी छ, नत्र भ्रष्टाचार मौलाउँछ’, कडरियाले भने।

२०७२ सालमा शुरु गरिएको किबी र लोठसल्लामा हालसम्म तीन करोड ५० लाख रुपैयाँ लगानी भइसकेको छ। किबी फलफूलका रूपमा प्रयोग हुने र लोठसल्ला क्यान्सर रोगको उपचारका लागि औषधि बनाउन प्रयोग हुने भएकाले बजार र माग राम्रो भएको कडरिया बताउँछन्।

‘गत वर्षदेखि किबी उत्पादन सुरु भएको छ, यो वर्षदेखि हामी लगानी बन्द गर्छौँ’, उनले भने, ‘अर्को वर्षदेखि नाफा हुने अपेक्षा छ ।’ एउटा किबीको बोटले तीन वर्षपछि उत्पादन दिने उनले बताए। वार्षिक ५० केजी उत्पादन हुने एउटा बोटबाट ३५ देखि ५० वर्षसम्म फाइदा लिन सकिने कडरियाले बताए। एउटा बोटमा वार्षिक पाँच सय देखि ६०० रुपैयाँ लगानी हुने उनको भनाइ छ।

नेपाली किसानले किबी उत्पादन गरे पनि भण्डारणमा समस्या हुँदा सस्तोमा बेच्नुपरेको किसानको अनुभव छ। उत्पादनस्थलबाट बजारसम्म पुर् याउन ‘कुलिङ चेन’ जरुरी हुने कडरियाले बताए। ‘भण्डारणका लागि उचित व्यवस्था नहुँदा किसानले उत्पादन गरेको किबी चाँडै बिग्रिने समस्या देखिएको छ’, उनले भने, ‘यसले गर्दा किसानले मूल्य पाएका छैनन्, बजार पनि खस्किएको छ ।’

बेमैसममा नेपालमा न्यूजरल्याण्डबाट किबी आयात हुने गरेको कडरिया दाबी गर्छन्। नेपाली किसानको उत्पादन सुरक्षित गर्न सरकारले उपयुक्त शीतभण्डार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.