|
तस्वीर : एपी/रासस

काठमाडौँ : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद सोमवार साँझ सी–१३० हर्कुलस सैनिक विमानबाट नयाँ दिल्लीनजिकैको हिन्डन एयरबेसमा उत्रिएकी भारतीयसहित विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार हसिनासँग उनकी बहिनी रेहाना पनि छन्।

हिन्डन एयरबेसको सेफ हाउसमा बसेकी हसिनासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले एक घण्टा वार्तालाप गरेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हसिनाका छोरा सजीव वाजेदले बीबीसी विश्वसेवालाई सुरक्षाका लागि परिवारले दबाब दिएपछि हसिनाले देश छाड्ने निर्णय गरेको बताएको अर्को बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

साथै सजीवलाई उद्धृत गर्दै रोयटर्सले अब हसिना फेरि बंगलादेशी राजनीतिमा नफर्कने पनि उल्लेख गरेको छ।

भारतीय सञ्चारमाध्यमहरुले शेख हसिना भारत आइपुगेको‚ हिन्डन एयरबेसमा उत्रिएको र विभिन्न राजनीतिक सूत्रको हवाला दिँदै त्यहाँबाट उनी लन्डन‚ फिनल्याण्ड वा कुनै अन्य मुलुक प्रस्थान गर्ने उल्लेख गरेका छन्। 

तर हसिनाले लन्डन जान आफू आएकै विमान प्रयोग गर्छिन् अथवा कुनै अर्को उडानबाट जान्छिन् नखुलेको जनाइएको छ। हसिना दिल्लीमै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने स्पष्ट भइनसके पनि बंगलादेशी सञ्चारमाध्यमले भने उनी लन्डन जान सक्ने अनुमान गरेका छन्।

उनको विमानलाई भारतीय वायु सेनाको सी–१७ र सी–१३० जे सुपर हर्कुलस विमान ह्यांगरनजिकै पार्क गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भारतीय वायुसेना र सुरक्षा एजेन्सीले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादस्थित हिन्डन एयरबेससम्म हसिना चढेको विमानको आवागमनको निगरानी गरेका थिए।

भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक स्थितिको सामना गर्न तयार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बंगलादेशको राजधानी ढाकाका सडकमा सोमवार करिब ४ लाख प्रदर्शनकारी उत्रिएको समाचारहरुमा उल्लेख छ। हसिनाले पदबाट राजीनामा दिएर भारततर्फ लागेपछि प्रधानमन्त्री निवासमा पसेका प्रदर्शनकारीहरुले त्यहाँ तोडफोड गर्दै आगोसमेत लगाए। 

प्रदर्शनकारीहरुले राजमार्ग-२ कब्जा गरेका थिए। प्रहरीसँग सोमवार भएको झडपमा ६ जना मारिएका छन्। अहिलेसम्म भएका प्रदर्शनमा ३०० जनाको मृत्यु भइसकेको सञ्चारमाध्यमले जनाएका छन् र तीमध्ये अधिकांश विद्यार्थी रहेका छन्।

त्यहाँको सेनाले देशका प्रमुख राजनीतिक दलका नेताहरुसँग बैठक गरेर १८ सदस्यीय अन्तरिम सरकार गठन गर्ने प्रस्ताव गरेको बताइएको छ। सेनाले नै अन्तरिम सरकार बनाउने बताइएको छ।

छिमेकी भारतका सुरक्षा निकायहरुले बंगलादेशको सीमामा सुरक्षा व्यवस्था कडा पारेका छन्। भारतले बंगलादेश जाने सबै रेल तत्कालका लागि बन्द गर्‍यो भने एयर इन्डियाले आफ्ना सबै उडान रद्द गर्‍यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.