'लगानी छैन उपलब्धि मात्र खोजेर हुन्छ?'

|

काठमाडौं : काभा वुमन्स नेसन्स लिगमा फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिविमुख हुन पुग्यो। पाँचौँ सेट १५-५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३-२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो।

२-१ सेटले अगाडि रहेको नेपाल फेरि भारतलाई फाइनलमा पराजित गर्नबाट चुकेको छ। लिग चरणको खेलमा भने नेपालले भारतलाई ३-२ सेटमा पराजित गरेको थियो। नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो। भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०-२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो।

दोस्रो सेट भने भारतले कमब्याक गर्दै २५-१४ को फराकिलो अन्तरले जित्यो। प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले २५-२२ ले जितेर २-१ को अग्रता लिएको थियो।  फेरि प्रतिस्पर्धात्मक चौथो सेट २५-२१ बाट भारतले जितेर खेल २-२ को बराबरीमा ल्यायो।

भारतसँग किन हार्‍यो नेपाल?

नेपाली राष्ट्रिय भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले खेलाडीहरूले मिहिनेत गरेर खेलेको बताए। उनले तेस्रो सेटमा आफ्नो पक्षमा खेल आए पनि चौथो सेटमा खेलाडीहरूले अलिक लय गुमाएको बताए।

लिग चरणमा भारतलाई हराएपछि फाइनल जित्नैपर्ने खेलाडीहरूलाई दबाब रहेको भन्दै कहिलेकाहीँ अति धेरै दबाबले पनि खेलाडीलाई हतोत्साहित बनाउने उनको टिप्पणी थियो।

‘भारत जस्तो बलियो टोलीलाई लिगमा हराएपछि फाइनल जित्नैपर्ने दबाबका कारण खेलाडीहरू नर्भस भएको देखियो’, उनले थाहाखबरसँग भने। तर, हारबाट सिकेर आउँदा दिनमा उच्च मनोबलका साथमा खेल्ने विश्वास आफूले लिएको उनले बताए।

कप्तान अरुणा शाहीले छिमेकी राष्ट्र भारतसँग जस्तोसुकै अवस्थामा पनि नेपालले राम्रो खेल्दै आएको स्मरण गर्दै सोही मानसिकता र प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरेकी थिइन्। इरानलाई पराजित गर्दै फाइनलमा भारतसँग खेल्नुअगाडि उनले  इरानजस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको उल्लेख गरेकी थिइन्।

तर, भारतसँगको हारपछि उनले भारतलाई हराउँदै इतिहास रच्ने आफ्नो योजना पूरा नभएको बताइन्। उनले भनिन्, ‘चौथो सेटसम्म ठिकै भए पनि पाँचौँ सेटमा हाम्रो लय बिग्रियो। हामी सबै अलिक डाउन भयो। रिसिभिङ र अट्ट्याकिङ नै कमजोर भयो। एकजना चल्दा अर्को खेलाडी नचल्ने जस्तो देखियो। भारतको ब्लकिङ स्ट्रोङ देखियो।'

हारियो भन्दैमा हिम्मत हार्नुभन्दा आउँदा दिनमा अझै मिहिनेत गरेर हामी खेल्ने उनले जिकिर गरिन्। उनले पूर्वाधार र खेलाडीलाई आधारभूत आवश्यकता पूरा गरिदिने हो भने अन्य उपाधि हात पार्न सकिने बताइन्।

'राष्ट्रिय खेलको घोषणा, कभर्ड हलसम्म छैन'

नेपालमा सबैको पहुँच, भौगोलिक सहजताका आधारमा पनि भलिबल सबैभन्दा लोकप्रिय खेल मानिन्छ।  त्यसमाथि भलिबललाई सरकारले गत २०७४ जेठमा नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो। सरकारले राष्ट्रिय खेल घोषणा गरेपछि भलिबलमाथि लगानी बढ्न अपेक्षा खेलप्रेमीहरूको रहेको थियो।

तर, राज्यले भलिबलमाथि कुनै लगानी गरेको छैन।  भलिबल खेलका प्रतियोगिता गाउँ जिल्ला प्रदेश र राष्ट्रिय स्तरमा छिटफुट रूपमा हुन्छन्। यसमा राज्यले स्तरीय खेलमा लगानी गरेको छैन। जसरी भलिबलको स्तरवृद्धि हुनुपर्ने हो भने त्यो भने हुन सकेको छैन।

यतिसम्म कि राष्ट्रिय खेल घोषणा भए करिब ७ वर्षसम्म पनि नेपाली भलिबलले स्तरीय कभर्ड हल प्राप्त गर्न सकेको छैन। नेपाल भलिबल संघले नै आफैँ कभर्ड हल निर्माण गर्न पहल गरे पनि जग्गा उपलब्ध हुन नसक्दा भलिबल खेलाडी र दर्शक निराश हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ।

धेरैजसो दशरथ रंगशालाको कभर्ड हलमा नै खेलाडीहरूले अभ्यास गर्ने गर्छन् तर उक्त कभर्ड हल पनि अनेकौँ कार्यक्रमका लागि प्रयोग गरिन्छ भने अन्तर्राष्ट्रिय स्तरको पनि छैन।

तर, खेलाडीहरूको उच्च मनोबल लगाएर खेल खेलिरहेका छन्। काठमाडौं महानगरका प्रमुख बालेन साहसँग फाइनल खेल खेल्नुअगाडि खेलाडीहरूसँग भेट गरेका थिए। भेटमा साहले खेलाडीहरूको मनोबलले आफू प्रेरित रहेको बताएका थिए।

साहले भनेका थिए, ‘ पैसा कमाएर घर बनाउने उमेर, थोरै पैसा पाएर पनि तपाईंहरूले गरेको कामले म एकदमै उत्प्रेरित भएको छु।'

फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओली पुग्ने भनिए पनि अन्तिम अवस्थामा उनी उपस्थिति हुन सकेनन्। तर, हजारौं संख्यामा दर्शक भने उपस्थित भएका थिए।

खेल हेरेर बाहिरिँदै गरेका कलंकीका सुमित अधिकारीले राज्यले उपेक्षा गरे पनि खेलाडीहरूले ज्यान दिएर खेल खेलेको टिप्पणी गरे। उनले भने, ‘उच्चकोटीको कभर्ड हल छैन। खेलाडीलाई सेवा सुविधा केही छैन। र पनि हाम्रा खेलाडीहरूले देशको शिर उच्च बनाएका छन्।'

खेलाडीहरूले उपाधि जित्न नसक्नु उनीहरूको कमजोरी नरहेको उनले बताए। ‘यो त राज्यको कमजोरी हो। राज्यले लगानी गरेको खै?’, उनले खिन्नता प्रकट गर्दै भने, 'लगानी छैन उपलब्धि मात्र खोजेर हुन्छ?'

सरकारले नै गर्छ भलिबललाई उपेक्षा

राज्यले हरेक वर्ष बजेटमा  भलिबललाई भने प्राथमिकतामा राख्ने गरेको छैन। गत वर्ष पनि बजेटमा भलिबलका लागि सरकारले कुनै चासो राखेन। गत वर्षको बजेटमा सरकारले थप चारवटा क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकतामा राख्दा भलिबलका लागि कुनै स्थान दिएन।

२०८१/८२ को बजेटमा  सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि साढे ३ अर्ब बजेट विनियोजन गर्‍यो। यसमा पनि भलिबलको नामसमेत उल्लेख गरिएको छैन। तत्कालिन अर्थमन्त्री वर्षमान पुनले नेपालको मौलिक खेल एवं परम्परागत घोडचढी, डण्डीबियो, बाघचाललगायत खेलको प्रवर्द्धन गर्ने, आधुनिक प्रविधियुक्त ई–स्पोर्टसको अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, काठमाडौँको मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरेका थिए।

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनुका साथै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने सरकारको योजना रहेको अर्थमन्त्री पुनले बताएका थिए। यसमा पनि भलिबलबारे कहीँ कतै केही पनि उच्चारण गरिएको छैन।  सरकारले भलिबलका सम्बन्धमा हरेक वर्ष उपेक्षा गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.