|

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गरेको छ।

बुधबार काभा महिला भलिबलको उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई महानगरले जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।

महानगरले  टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान​ गरेको हो। खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा महानगर प्रमुख बालेन शाहले खेलाडीहरूलाई हौसला दिँदै भने, ‘तपाईँहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन । खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो । यसकारण, तपाईँहरूको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ।’ 

प्रमुख शाहले, खेल विकासका लागि खेलाडीको प्रयत्‍नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए। 

खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डंगोलले, उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन् । ‘पदक प्राप्त गर्नु प्राविधिक कुरा हो । खेलमा जित र हार हुन्छ नै । सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको उर्जा हो । महिला भलिबल टोलीमा हामीले त्यो उर्जा पायौँ ।’ उनले खेललाई सुदृढ र विकसित बनाउन महानगरपालिका प्रतिवद्ध भएको बताउँदै भनिन्, ‘अरु क्षेत्रमा पक्ष र विपक्ष हुन सक्छ यस प्रकार अन्तर्राष्ट्रिय स्तरका खेलमा पक्ष विपक्ष हुँदैन । सबै नेपालीको दृष्टि एउटै हुन्छ ।’

सम्मानका क्रममा मुख्य प्रशिक्षक जगदिश भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.