विराटनगर : कामको सिलसिलामा घुम्दै जाँदा विराटनगरस्थित गुर्दी बजार आसपासको गल्लिामा पाइला मोडियो। जाँदाजाँदै त्यही साँघुरो गल्लीको मोडमा एउटा बोर्ड भेटिन्छ।
जहाँ लेखिएको छ,‘यहाँ सेलरोटी, सुख्खा रोटी, आलु पराठा, चिया, अनर्सा, चटपटे आलुनिम्की पाइन्छ। साथै विवाह पूजाको लागि अर्डर लिइन्छ।’
त्यही बोर्ड हेर्दै पसलभित्र प्रवेश गर्दा ५६ वर्षकी आमा तातो रापमा सेलरोटी बनाउँदै आउनेजाने ग्राहकको भोक मेट्दै गरेको भेटिइन्।
तराईको प्रचण्ड गर्मी अनि आगोको तातो रापमा सेलरोटी बनाउनु त्यति सहज नहुँदो हो।
तर, पनि आफूले घरमा गरिराखेको कामलाई व्यवासयिक रूपमा अगाडि बढाउने निधो गरेकी विराटनगर–९ की देवी आचार्य कामलाई समान्य रूपमा नै लिने गरेको सुनाउँछिन्।
आमा हामी पनि सेलरोटी खाने नि है? भन्ने प्रश्नसँगै आरम्भ भएको हाम्रो संवादलाई शब्दमा जोड्न चाहेँ।
२ बजेपछि नास्ता खान आउनेजानेहरुको भिडले त्यति धेरै गफिन नसके पनि भावी दिनको योजनाका विषय भने खुलेर ‘शेयर’ गर्न भ्याइन्।
गत माघ १ गतेदेखि ५ किलो पीठोबाट सुरु गरेको सेलरोटी बनाउने काम अहिले दैनिक ७ देखि ८ किलोसम्म जाने गरेको हाँस्दै सुनाइन्।
उनी सुनाउँछिन्, ‘जाडो महिनामा अझ धेरै जाने रहेछ। त्यो समय कहिलेकाँही त १२ किलो पिठोको रोटी बेच्न सफल भएकी छु।’
रोटीको फन्को लगाउँदै घरिघरि छोरालाई ग्राहक हेर्न आग्रह गर्दै पराठा पनि बनाउन भ्याउँछिन्।
यस्तो जाँगर कहाँबाट आउँछ आमा? भन्ने प्रश्नमा उनी सुनाउँछिन्, ‘सकिन्जेल गर्नुपर्छ नि बुढेसकाल लाग्यो भन्दै बस्दा झन् अल्छी हुन्छ।’
त्यसो त उनी यसअघि घरैबाट विवाहको माला बनाएर कोशी प्रदेशको विभिन्न जिल्लामा सप्लाई गर्ने गरेकी रहेछिन्।
१८ वर्षको उमेरमा उदयपुर जिल्लाको गाईघाटबाट विराटनगर बुहारी भएर भित्रिएकी देवी परिवार र श्रीमानलाई आर्थिक साथ र आत्मनिर्भर बन्न विवाहपछि सीपमूलक काम गर्न थालेको सुनाउँछिन्।
अहिले छोरालाई अब थालेको व्यवसाय ब्रण्डिङ बनाइदिने योजना रहेको हाँस्दै सुनाइन्। दश वर्षपछि वैदेशिक रोजगारीबाट फर्किएको एक्लो छोरालाई गरिखाने बाटो बनाइदिन पनि यो व्यवसाय अपनाएको उनको भनाइ थियो।
‘छोरा १० वर्षपछि विदेशबाट नेपाल फर्कियो, अब के गर्ने त भन्ने सोच बनाउँदा बनाउँदै आफैँले जानेको सीपलाई व्यावसायिक ढंगले अगाडि बढाएकी हुँ,’ उनले सेलरोटी घुमाउँदै सुनाइन्, ‘बाबुले पनि मेरो प्रस्ताव र सल्लाहलाई स्वीकार गर्यो र उसले पनि साथ दिइरहेको छ।’
उनको पसलमा बैंकको कर्मचारी, अन्य पसलमा आउने ग्राहकहरु नास्ता खान आउने गरेको र धेरै जस्तो ग्राहकले अर्डर गरेअनुसार सम्पूर्ण परिकार बनाउने गरेको उनी बताउँछिन्।
‘मेरो लक्ष्य यति मात्रै होइन, बोर्डमा लेखिएको सबै खालको परिकार यहाँको ब्राण्ड बनाउने विचार हो, अब हेरौँ।’ हामीतर्फ हेर्दै उनले बताइन्। त्यसो त उनको हातबाट बनेको सेलरोटी भारतको जोगबनी, सिलिगुडी, फारविसगञ्जसम्म कोशेलीको रुपमा पुग्ने गरेको रहेछ।
अब त दिनदिनै आराम गर्ने उमेर भयो योजनाअनुसार काम गर्नुसक्नुहन्छ त? भन्ने प्रश्नमा उनले एकै शब्दमा उत्तर फर्काइन्,‘अझै १० वर्षसम्म सक्छु।’
शरीर र स्वास्थ्यले साथ दिएसम्म काम गर्न आत्मबल साँचेकी देवीको विचारमा अरुकोमा काम गर्नुभन्दा आफ्नैमा काम गर्दा जीवनभरका लागि हुने उनी सुनाउँछिन्।
आम्दानीको विषयमा सोध्दा भने उनले मन्द मुस्कानसहित भनिन्,‘कहिले सबै बिक्री हुन्छ, कहिले उभ्रिन्छ यस्तै छ हौ नानी।’
बिहानको १२ बजेदेखि पसल सुरु हुने रहेछ। घरैबाट पिठो, समान ल्याएर ताजा परिकारको स्वाद चाख्न त्यसो त हामी जस्तो बोर्ड हेर्दै जानेको जमातसँगै बोर्डमा राखिएको फोन नम्बरमा सम्पर्क गरेर कर्मचारीहरु, ठाँउठाँउको ग्राहक उनको हातको परिकार खान आउने गरेको उनी सुनाउँछिन्। सम्पर्क गरेर अर्डर गरे अनुसारको सामान लिन पसलमै आउने रहेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।