|

काठमाडौं : हिजो राती काठमाडौं महानगरपालिका कार्यालय नजिकै भासिएको सडक टुकुचा खोला रहेको फेला परेको छ। दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौं प्लाजा जोड्ने सडक भासिएको थियो।

सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवागमन बन्द गरिएको छ। महानगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले उक्त भासिएको सडक टुकुचा खोला रहेको देखिएको जानकारी दिए।

‘टुकुचा खोला रहेको छ,त्यही माथि सडक बन्दा भासियो,’उनले भने। उनले त्यहाँ पुल बनाउनु बाहेक अरु विकल्प नदेखिएको बताए। उनले भने,‘मलाई लाग्छ त्यो सडक बनाउन त्यहाँ पुल बनाउनु बाहेक अरु विकल्प छैन।’ महानगरपालिकाका अनुसार उक्त सडक,सडक विभाग अन्तर्गत पर्छ।

महानगर प्रमुख बालेन शाहले खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने माग गरेका छन्। सडक भासिएपछि उनले भनेका छन्,‘यो टुकुचामाथिको बाटो हो, अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन्, काठमाडौं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ, अदालती कारणले केही रोकिन परेको थियो, अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ।’

उनले सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने र यस पश्चात् खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने पनि बताए। ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.