काठमाडौँ : वरिष्ठ पत्रकार भैरव रिसालका संकलित रचनाको संग्रह सार्वजनिक भएको छ।
शनिवार काठमाडौंमा उनको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमबीच वरिष्ठ पत्रकार रिसालका संकलित रचनाहरूको संग्रह ‘भैरव रिसालका छानिएका रचना-२’ सार्वजनिक भएको हो। पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ।
पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा लेखेका लेख तथा रचना समावेश गरिएको छ। पुस्तक सार्वजनीकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तिले ९७ वर्ष पुगेका रिसालको ऊर्जाको प्रशंसा गरेका थिए।
रिसालले आफ्नो पत्रकारिताका दिनमा र लेखनमार्फत देशलाई योगदान पुर्याएको भन्दै सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताए। रिसालले बेदाग छवि बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उनले बताए।
महामन्त्री विश्वप्रकाश शर्माले भने‚ ‘एउटा व्यक्तिले कति वर्ष बाँच्यो भन्ने कुरा जति महत्त्वपूर्ण हुन्छ। बेदाग जिन्दगी बाँच्यो भन्ने कुरा चाहिँ महान् कुरा हुन्छ। ठूलो जिम्मेवारीमा पुग्यो रे तर परबाट हेर्दा टल्किने दागभन्दा इमानको जिन्दगी बाँचिराखेर, बेदाग रूपमा मान्छेका सामुन्ने हात हल्लाउन सक्ने जिन्दगी सबैभन्दा बहुमूल्य हुन्छ। त्यो बहुमूल्य जिन्दगी भैरव दाइले बाँच्नुभएको छ।’
रिसालले अझै पनि सक्रिय जीवन व्यतीत गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालका लेखरचना आउनेमा अतिथिहरूले विश्वास व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।