|

काठमाडौँ : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि नेकपा एमालेतिर लागेका पूर्वमाओवादी नेताहरूको अहिले बिचल्ली छ। राजनीतिक भविष्य नै संकटमा पर्ने गरी कोही बदनाम हुँदा कोही गुमनाम छन्। कोही असन्तुष्टि जनाउँदै पार्टीबाटै बाहिरिसकेका छन्।     

२०७७ फागुन २३ मा सर्वोच्चले नेकपा बदर गरेपछि रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायतले एमाले रोजेका थिए। २०७८ मंसिरमा १०औं महाधिवेशनबाट बादलसहित पूर्वमाओवादीबाट ३४ जना एमाले केन्द्रीय सदस्य बनेका थिए। 

तीमध्ये निवर्तमान एमाले सचिव रायमाझी अहिले बदनाम छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मोटो रकम असुलेर नीतिगत निर्णय गराएको आरोप उनी पुर्पक्षका लागि थुनामा छन्। यही प्रकरणमा उनका छोरा सन्दीपसमेत मुछिएका थिए। तर उनी उच्च अदालतको आदेशपछि धरौटी तिरेर छुटिसकेका छन्। 

माओवादी शान्ति प्रक्रियामा आएपछि पूर्वउपप्रधानमन्त्री सहित पटकपटक मन्त्री भएका रायमाझी २०६४ यताका सबै निर्वाचन जित्न सफल व्यक्ति हुन्। उनी गत निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए। अहिले उनी संसद् र पार्टी दुबै जिम्मेवारीबाट निलम्बित छन्। अब रायमाझीको राजनीतिक भविष्य नै समाप्त हुने धेरैको बुझाइ छ। 

नेकपा बन्नुअघि माओवादीका प्रभावशाली महासचिव रहे पनि नेकपा बदरसँगै केपी ओलीतिर लागेका बादल एमाले उपाध्यक्ष हुन्। पार्टीको ५औं वरीयतामा रहेका उनको भूमिका पार्टीमा शून्यजस्तै छ। वेलाबखत पार्टी बैठकमा बाहेक बादल खासै अन्य सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। 

माओवादी जनयुद्धका सैन्य योजनाकारसमेत मानिएका बादल २०६४ को संविधानसभा चुनाव चितवन–३ बाट जिते। प्रचण्डका विश्वासिलो पात्र रहेका उनी २०६९ मा वैद्यसँगै पार्टीबाट अलग भएर २०७० को दोस्रो संविधानसभा बहिष्कार गरे। २०७४ मा पुनः माओवादीमा फर्किएका बादल राष्ट्रियसभा सदस्य भए। 

राष्ट्रियसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै माओवादीले  १५ फागुन २०७४ मा बादललाई गृहमन्त्रीसहित पार्टीको नेतृत्व गर्दै सरकारमा पठायो तर एमाले रोजेपछि उनले राष्ट्रियसभा सदस्य र गृहमन्त्री पद गुमाए। 

अदालतको फैसलाकै कारण वैधानिक रूपमा माओवादी केन्द्रका नेता बन्न पुगेका बादलले पार्टीमा फर्कन अध्यक्षले दिएको निर्देशन मानेनन्, फलस्वरूप उनी पार्टी सदस्य र राष्ट्रियसभा सदस्यबाट कारबाहीमा परे। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा छोरा प्रतीकसमेत मुछिएपछि तनावमा रहेका बादल राष्ट्रिय राजनीतिमा गुमनामजस्तै छन्। उनले २०७९ को आमनिर्वाचनमा भाग नै लिएनन्। उनकी श्रीमती नैनकला थापा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य छिन् तर राजनीतिमा जम्नै नसकेकी उनी पनि गुमनाम जस्तै छिन्। 

माओवादी छाडेर एमाले रोज्नेमध्येका अर्का नेता हुन् गौरीशंकर चौधरी। उनी २०७० र २०७४ को निर्वाचनमा कैलाली ३ बाट लगातार सांसद चुनिएका थिए तर एमालेले टिकट दिए पनि गत आमनिर्वाचन भने हारे। त्यसयता उनी सक्रिय राजनीतिमा देखिएका छैनन्।  

एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका चौधरी अहिले गृहजिल्लातिरै छन्। केन्द्रमा भूमिका नभएकोले आफू जिल्लातिरै सीमित भएको उनी बताउँछन्। उनले भने, ‘केन्द्रमा जिम्मवारी नभएकाले जिल्लातिरै छु।’  

सँगै आएका एकपछि अर्को सहयात्रीले एमाले छोड्दै गर्दा चौधरीले पनि एमाले अझै सहजता महसुस गरेको बताउँछन्। यद्यपि पार्टीबाट बाहिरै निस्केर पनि निकास खोज्ने पक्षमा उनी देखिँदैनन्। 

‘एउटा ठाउँबाट अर्को ठाउँमा आउँदा अप्ठ्यारो महसुस हुनु स्वभाविक हो। भनेको जस्तै सबै ठाउँ त कहाँ हुन्छ र !’, उनले भने, ‘वातावरण बन्न समय लाग्छ। अहिले आत्तिहाल्न जरुरी छैन। बाहिरै गइहालेर निकास खोज्ने कुरा पनि ठिक होइन।’  

भट्ट र साह सक्रिय, थापा बाहिरिए

पूर्वमन्त्रीसमेत रहेका एमाले सचिव लेखराज भट्ट माओवादीमा रहँदा शक्तिशाली पात्र थिए। एमालेमा पुगेपछि गत आमनिर्वाचनमा टिकट पाउनेमध्येका अर्का भाग्यमानी भट्ट पनि हुन् तर  कैलाली–४ एमालेका उम्मेदवार बनेका उनी पराजित भए। 

माओवादीबाट तीनपटकसम्म लगातार निर्वाचन जितेका भट्ट माओवादीबाटै विगतमा पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन्। अन्य पूर्वमाओवादी नेताहरूको तुलनामा एमाले राजनीतिमा छिटो भिजेका उनी सक्रिय पनि देखिन्छन्।  

भट्टमाथि एमाले अध्यक्ष ओली सकारात्मक देखिँदै आएका छन्। पहिला कर्णाली इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका उनलाई केही दिनअघि मात्रै पार्टीले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। १०औँ महाधिवेशनका आफ्ना प्रतिस्पर्धी भीम रावललाई निरन्तर दबावमा राख्न ओलीले भट्टलाई साथ लिएको बताइन्छ। 

एमाले पृष्ठभूमिबाट माओवादी आन्दोलनमा लागेर नेकपा विघटनपछि एमालेमै रहेकी ज्वालाकुमारी साह पनि एमाले राजनीतिमा सक्रिय पात्र नै हुन्। बारा ३ बाट गत आमनिर्वाचन जितेकी उनी एमाले-माओवादी गठबन्धनमा कृषि तथा पशुपक्षी विकासमन्त्री समेत भइन्। 

पछिल्लो समय एमाले नेतृत्वसँग असन्तुष्ट रहँदै आएका पूर्वमन्त्री एवं स्थायी कमिटी सदस्य मणि थापा भने एमालेबाट बाहिरिएका छन्। उनले पछिल्लो समय निरन्तर पार्टी बैठकसमेत बहिष्कार गर्दै आएका थिए। 

१७ साउनको एमाले स्थायी कमिटी बैठले थापालाई औपचारिक रूपमै पदमुक्त गर्‍यो। लगातार तीनवटा बैठकमा बिनाजानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधानअनुसार उनलाई पदमुक्त गरिएको एमालेले बताएको छ।  

एमालेबाट पदमुक्त भएका नेता थापा मुख्य रूपमा ‘स्कुलिङ’ नमिलेकाले आफैँ पार्टीमा निष्क्रिय बनेको बताउँछन्। अब कसरी अघि बढ्ने भन्ने निष्कर्षमा पनि पुगिनसकेको उनले बताए। उनले भने, ‘मैले भन्ने गरेको एउटै कुरा के हो भने स्कुलिङ मिलेन।’ 

थापाले अबको राजनीतिक जीवन कसरी अघि बढाउने भन्ने निष्कर्षमा पुगिनसकेको बताए। उनले भने, ‘अब के कसरी अघि बढ्ने भन्नेबारे निर्णयमा पुगिसकेको छैन। देशको राजनीतिक परिस्थिति कस्तो हुन्छ। त्यसैअनुसार केही समय पछि निर्णय लिन्छु।’  

त्यसो त थापा गत आमनिर्वाचनअघि देखि नै असन्तुष्ट थिए। उक्त असन्तुष्टि २०७९ साउनमा नेपाल अध्ययन केन्द्रद्वारा काभ्रेमा आयोजित ‘वामपन्थी आन्दोलनबारे विमर्श’मा पोखेका थिए। 

‘कम्युनिस्ट आन्दोलनमा सधैंभरि वामपन्थी र दक्षिणपन्थी हुन्छ। अहिले नेपालमा भएका सबै कम्युनिस्टहरू दक्षिणपन्थी हुन्। म पहिला माओवादी पार्टीमा थिएँ, अहिले एमालेमै छु, यो पनि दक्षिणपन्थी कम्युनिस्ट हो’, उनले भनेका थिए, ‘यो दक्षिणपन्थी कम्युनिस्टले संसदीय व्यवस्थासँग आत्मसमर्पण गरेको छ।’

उक्त विमर्शमा एकातिर उनले आफैं स्थायी कमिटी सदस्य रहेको पार्टी दक्षिणपन्थी भासतिर अघि बढेको औंल्याएका थिए भने अर्कातिर एमाले अध्यक्ष ओलीको शैलीमाथि  पनि प्रश्न उठाएका थिए। ‘अहिले चाहिएको नयाँ मुद्दासहितको वामपन्थ हो। अहिले नयाँ मुद्दा चाहिएको छ। हामी एमालेमा छौँ, एमालेसँग मुद्दा छैन। एमाले भएको नाताले हाम्रा बा (केपी ओली)ले जे भने पनि त्यो त हो भन्नुपर्‍यो। पार्टीको नेता भएकाले हामीले विरोध गर्न मिल्दैन, त्यो अनैतिक हुन्छ फेरि’, थापाले भनेका थिए।

नेतृत्वको नीति र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अर्का पूर्वमाओवादी नेता प्रभु साहले एमाले छाडेको डेढ वर्षभन्दा बढी भइसकेको छ। गत आमनिर्वाचनको उम्मेदवार मनोनयनका दिन विद्रोह गरी उनले स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लड्ने घोषणा गरेका थिए। तत्कालीन कांग्रेस-माओवादी गठबन्धनको साथले उनी विजयी पनि भए। 

मधेश प्रदेशका प्रभावशाली मानिएका नेता साह २०६४ यताका सबै निर्वाचन जित्न सफल छन्। निर्वाचनपछि उनले आफ्नै आम जनता पार्टी खोलेका छन्। 

छाड्नेले छाडे वा पार्टीमै रहे पनि हिजो एमाले रोज्ने माओवादी नेताहरू भविष्य नै संकटमा रहेको कतिपयको बुझाइ छ। एमालेमा नेताहरू नाम मात्रको पद पाए पनि सक्रिय जिम्मेवारी नपाएकोमा असन्तुष्ट देखिन्छन्। नेतृत्वको कार्यशैली र पार्टी सञ्चालन विधिप्रति पनि उनीहरू सन्तुष्ट छन् तर बोल्न सक्ने अवस्थामा भने उनीहरू छैनन्। 

लामो समय एमालेमै रहेर राजनीति गरेका नेताहरूसमेत एमाले अध्यक्ष ओलीसामु निरीह भएकाले वेला माओवादीबाट जानेहरूले हिम्मत नगर्नु स्वाभाविकै हो। जनयुद्ध शब्द उच्चारण गर्न समेत हिच्किचाउने र कुनै वेला यसलाई कुहिएको फर्सीसँग तुलना गर्ने ओलीले पूर्वमाओवादी नेताहरूलाई विश्वास गरेर जिम्मेवारी नदिनुलाई विश्लेषकहरू भने स्वभाविक ठान्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.