पर्वत : जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक वनहरूमा एक वर्षमा नौ वटा पोखरी निर्माण गरिएका छन्।
डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रम अन्तर्गत ती पोखरीहरू निर्माण गरिएको हो। पोखरीमा अटुट रूपमा पानी राख्न सकिने स्थानमा कुल १० लाखको लागतमा १० वटा पोखरी निर्माण गर्ने लक्ष्य रहेको भए पनि नौ वटा मात्रै पोखरी निर्माण गर्न सकिएको उनको भनाइ छ। ती पोखरी निर्माण गर्दा आठ लाख ३९ हजार दुई सय १३ रुपैयाँ खर्च भएको छ।
फलेवास नगरपालिका–३ को देउपुजा सामुदायिक वनमा एउटा, मोदी गाउँपालिका–४ को लोहोसे चिसाखर्क सामुदायिक वनमा एउटा, बराह ताल थान सामुदायिक वनमा एउटा, कुश्मा नगरपालिका–१४ को गिदाउरे सालघारी सामुदायिक वनमा एउटा, जलजला गाउँपालिका–४ को टांडी बिसौना सामुदायिक वनमा एउटा, जलजला–८ को लस्ती वेर्नेटा सामुदायिक वनमा एउटा, फलेवास नगरपालिका–७ को कालो वन बाटुलेचौर सामुदायिक वनमा एउटा र कुश्मा नगरपालिका–३ को सल्लेरी सामुदायिक वनमा दुई वटा पोखरी निर्माण गरिएको हो।
सामुदायिक वनमा पोखरी निर्माण गर्दा विविध पक्षमा फाइदा हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुँदै गइरहेको कार्यालय प्रमुख सापकोटाले बताए। विशेषतः वन्यजन्तुको प्यास मेटाउन तथा वनमा हुने आगलागी नियन्त्रणको लागि वनमा निर्माण गर्ने पोखरीहरू उपयुक्त हुने उनको भनाइ छ।
‘पोखरीले वन्यजन्तुलाई पानीको स्रोत उपलब्ध गराउँछ, जसले तिनीहरूको प्यास मेट्न, नुहाउन, र अन्य दैनिक आवश्यकताहरू पूरा गर्न मद्दत गर्छ। पोखरीले विभिन्न वन्यजन्तुहरूलाई सुरक्षित आश्रय प्रदान गर्छ। माछा, भ्यागुता, र अन्य जलचर प्राणीहरूको लागि पोखरी प्राकृतिक वासस्थानको रूपमा कार्य गर्छ’, वन अधिकृत सापकोटा भन्छन्, ‘यसले जैविक विविधता बढाउन मद्दत गर्छ। यसले विभिन्न प्रजातिका वन्यजन्तुहरूलाई आकर्षित गर्छ, जसले सामुदायिक वनको सम्पूर्ण पारिस्थितिक तंत्रलाई समृद्ध बनाउँछ। विभिन्न वन्यजन्तुको खाद्य शृङ्खला कायम राख्ने, कीरा, साना जलचर प्राणी, र जलजन्य वनस्पतिले ठुला वन्यजन्तुहरूको आहारमा पनि पोखरीबाट सहयोग हुन्छ।’
पोखरीले आगलागी नियन्त्रणमा पनि ठुलो सहयोग पुग्ने सामुदायिक वनका उपभोक्ताहरू बताउँछन्। जलवायु परिवर्तनका कारण भइरहेको तापक्रम वृद्धिले बढ्दै गइरहेको तापक्रम र पछिल्ला वर्षहरूमा वन क्षेत्रमा भइरहेका आगलागीका घट्नाहरु नियन्त्रण गर्न सजिलो हुने सामुदायिक वन उपभोक्ता महासङ्घ पर्वतका अध्यक्ष जीवन उचै ठकुरी बताउँछन्।
‘वाष्पीकरणले मनसुनमा सहयोग गरेको हुन्छ। जलाधारमय र हरियाली क्षेत्रमा बस्ने प्रणाीहरुको सोच र विचार नै सकारात्मक हुन्छ भन्ने कुरा अध्ययनले पनि देखाएको छ। पोखरीमा भएको पानीले मूलहरूलाई रिचार्ज गर्दा पानीका मूलहरू सुक्न पाउँदैनन्’, उनले भने, ‘मानवीय व्यवहारकै कारण पानीका मुहानहरू सुक्दै गइरहेका छन्। बन क्षेत्र रुखिएका छन्। पानीका मूल सुक्दा वन्यजन्तुहरू प्यास मेट्न बस्तीमा पसेका छन्। जसले मानव र वन्यजन्तुको द्वन्द्व पनि बढाएको छ।’
पोखरीका कारण आसपासको क्षेत्रमा चिस्यान कम हुँदा आगो सल्किन समस्या हुने, पोखरी वरपरको क्षेत्रलाई अग्नि प्रतिरोधी क्षेत्रको रूपमा प्रयोग गर्न सकिने, आगोलागिको बेला वन्यजन्तुहरूले पोखरीलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्न सक्ने, लगायतका फाइदाका लागि पनि यस्ता पोखरीहरू महत्त्वपूर्ण छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।