प्यालेस्टिनी कैदीलाई आँखामा पट्टी, हात बाँधेर कुट्पिट
प्यालेस्टिनी कैदीलाई आँखामा पट्टी, हात बाँधेर कुट्पिट
एजेन्सी : इजरायलमा जेलभित्र रहेका प्यालेस्टिनी कैदीलाई यातना दिइएको दाबी गर्दै मानवअधिकारवादी समूहले प्रतिवेदन सार्वजनिक गरेको छ।
इजरायलको मानवअधिकार समूह बेत्सेलमले प्यालेस्टिनीलाई राखिएका इजरायली जेलभित्रको अवस्था यातनाभन्दा कम नरहेको दाबी गरेको बिबिसीले जनाएको छ। बेत्सेलमले हिरासतमा लिइएका ५५ जना प्यालेस्टिनीको बयानका आधारमा वेलकम टु हेल अर्थात नर्कमा स्वागत छ शीर्षक दिएर प्रतिवेदन जारी गरेको छ।
बेत्सेलमका कार्यकारी निर्देशक युली नोवाकले भने‚ 'सबैले हामीलाई एउटै कुरा पटक-पटक भने। जेलमा अपशब्द बोल्ने, शारीरिक हिंसा, मानसिक यातना र अपमान भइरहेको छ। प्यालेस्टिनी नागरिकका लागि इजरायलको जेल व्यवस्था यातना दिने नेटवर्कको रुपमा परिवर्तन भइसकेको छ।'
क्षमताभन्दा बढी कैदी
इजरायलमाथि अक्टोबर ७ मा हमासको आक्रमणपछि १२०० इजरायली र अन्य नागरिक मारिए। त्यसबेलादेखि प्यालेस्टिनी बन्दीहरुको संख्या दुई गुणा बढेर लगभग १० हजार भइसकेको छ। इजरायल जेल सर्भिस र सेनाले मिलेर जेलको व्यवस्थापन हेर्दै आएको छ। त्यहाँ ६ जना क्षमता भएको सेलमा १२ जना राखिएका छन्। हमासको आक्रमणलगत्तै केही कैदी पक्राउ परेका थिए भने केहीलाई गाजामा घेराबन्दी गरी जेलमा थुनिएको थियो। हमासको आक्रमणअघिदेखि जेल सजाय काटिरहेका कैदीले अक्टोबर ७ पछि परिस्थिति एकाएक बदलिएको बताएका रिपोर्टमा उल्लेख छ।
'जिन्दगी पूरै बदलियो, जे भयो त्यसलाई मैले सुनामी भनेको छु' फिरोज हसन नाम गरेका कैदीले भने। उनी ९० को दशकको शुरुवाती वर्षदेखि जेलभित्र र बाहिर रहँदै आएका छन्। उनीमाथि प्यालेस्टिनी इस्लामिक जिहादको सदस्य भएको आरोप लगाइएको छ। हसनले केही पश्चिमा देशले आतंकी संगठन घोषणा गरेका संगठनमा पहिला सक्रिय रहेको स्वीकारेका छन्। उनले सात अक्टोबरदेखि अधिकारी र नकावधारीले जेलभित्र निर्घात कुटपिट गरेको बताए। 'हामीलाई पछाडिबाट बाँधियो र आँखामा पट्टी लगाइदिए। मुखबाट रगत बग्ने गरी ५० मिनेटसम्म कुटिरहे र हाम्रो भिडियो समेत बनाए'‚ गत अप्रिलमा रिहा भएका हसनले भने।
जेलमा इजरायली नागरिकको अनुभव
गाजा र वेस्ट बैंकका मानिसहरूका अलावा इजरायलका नागरिकले पनि जेलमा यातनाको अनुभव साझा गरेका रिपोर्टमा दाबी गरिएको छ। इजरायलका नागरिक सारी खौरिहले आफूले पनि यातना भोगेको सुनाए। उनी गतवर्ष नोभेम्बरमा मगिदोमा दश दिनसम्म जेलमा बसे। खौरिहले आफ्नो फेसबुक पोस्टमा हमासको आक्रमणको प्रशंसा गरेको प्रहरीले आरोप लगाएको थियो जुन खारेज भइसकेको छ। जेलमा बिताएको समयले आफूलाई पूर्णरुपमा तोडिदिएको बताउँदै खौरिहले भने‚ 'कैदीहरुका लागि भित्र कुनै कानुन थिएन।'
आफू डरलाग्दो दुर्व्यवहारबाट बचेको तर साथीहरुमाथि भएका व्यवहार देखेर स्तब्ध भएको उनले बताए। 'बिनाकारण जेलमा बन्द गरिएकाहरु केही नगरेको भन्दै चिच्याउँथे तर उनीहरूलाई निर्घात हुने गरी कुटिन्थ्यो’,खौरिहले भने‚ 'चिकित्सकीय सहयोगका लागि गुहारिरहेका एक कैदीलाई डाक्टरले पनि बचाउन सकेनन् र उनको मृत्यु भयो।'
गत हप्ता जारी गरिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा इजरायल जेल सर्भिस आइपिएसको कैदमा १७ जना प्यालेस्टिनी कैदीको ज्यान गएको उल्लेख गरिएको छ।
इजरायली सेनाका वकिलले समेत हिरासतमा ज्यान गुमाएका गाजाका ३२ जनाको सम्बन्धमा अनुसन्धान भइरहेको बताएका थिए। इजरायली सेनाले भने सबै आरोप अस्वीकार गरेको छ। इजरायल जेल सर्भिसले पनि यस्ता दाबीका सम्बन्धमा कुनै जानकारी नभएको र आफूहरूले थाहा पाएसम्म यातनाका घटना नभएको प्रतिक्रिया दिएको छ।
गत अक्टोबर ७ देखि नै इजरायल इन्टरनेशनल कमिटी अफ रेडक्रसलाई प्यालेस्टिनी कैदीसँग भेट्न अनुमति दिइएको छैन। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले समेत गाजामा बन्धक बनाइएका इजरायली नागरिक र अन्य मानिससम्म रेडक्रसको पहुँच नभएको विषयलाई लिएर कैयौंपटक असन्तुष्टि व्यक्त गरिसकेका छन्।
यस्तैगरी द एसोसिएशन फर सिभिल राइट्स इन इजरायलले सरकारमाथि जानाजानी अन्ताराष्ट्रिय कानुनको अवहेलना गरेको आरोप लगाएको बिबिसीले जनाएको छ। गत हप्ता प्यालेस्टिनी कैदीमाथि गरिएको व्यवहारले सार्वजनिक विवाद समेत जन्माएको छ। गाजाका कैदीमाथि यौनशोषणका आरोपी सैनिकलाई पक्राउ गर्नबाट एसडिई तेइम्यान मिलिट्री बेसले रोक्ने प्रयास गरेको भन्दै इजरायलका सांसदहरुसहित प्रदर्शन गरिएको छ।
बेत्सेलमकी कार्यकारी निर्देशक नोवाकले जेल सर्भिसको जिम्मेवारी अहिलेसम्म सबैभन्दा ठूलो दक्षिणपन्थी व्यक्तिको हातमा दिइएको भन्दै जे भइरहेको छ त्यो मानवताविरुद्ध रहेको बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।