चर्च ब्वाइज र पारो एफसीभोलि भिड्ने

|

ललितपुर : एएफसी च्यालेन्ज लिग फुटबलको प्लेअफ खेल्न काठमाडौं आएको भुटानको लिग च्याम्पियन पारो एफसीले अभ्यास थालेको छ। 

मंगलबार हुने एएफसी च्यालेन्ज लिगको प्लेअफमा नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडसँग खेल्न भुटानी क्लब शनिबार नेपाल आएको हो।
दुवैका लागि यो प्रतियोगिता नौलो हो। 

३ वटा विश्वकप खेलिसकेका जापानी स्टार फुटबल खेलाडी केइसुके होण्डासम्मिलित पारो एफसीको टोली ठमेलस्थित पोटाला गेष्ट हाउसमा बसेको छ। जापानी राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर होण्डा टिमभन्दा छुट्टै बसेको चर्च ब्वाइज क्लबले जनाएको छ। 

मिडफिल्डर होण्डाले जापानबाट सन् २०१० , २०१४ र २०१८ को विश्वकप खेलेका थिए। 

सन् २०१० मा क्यामरुन विरुद्ध र डेनमार्क विरुद्ध १–१ गोल गरेका होण्डाले २०१४ मा आइभरीकोष्ट विरुद्ध पनि १ गोल गरेका थिए। 

एएफसी च्यालेन्ज लिगको प्लेअफ अघि आइतबार र सोमबार पारो एफसीले अभ्यास गर्नेछ। भद्रकालीस्थित आर्मी मुख्यालयको मैदानमा पारोले अभ्यास गर्ने क्लबका अध्यक्ष अध्यक्ष रुबेन राईले जानकारी दिए। 

यसअघि पत्रकार सम्मेलन गर्दै चर्च ब्वाइजले च्यालेन्ज लिगको प्लेअफका लागि आफ्नो टोलीको तयारी पूरा भएको जनाएको थियो। 
चर्च ब्वाइजले दशरथ रंगशालामा आगामी साउन २९ गते साँझ ६ बजे भुटानको पारो एफसीको सामना गर्नेछ। 

क्लबका अध्यक्ष अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल आयोजना हुनु गौरबको विषय भएको बताए। धेरै पछि दशरथ रंगशालामा हुन लागेकाले यसमा दर्शकको उपस्थिति उल्लेख्य रहने उनको विश्वास छ। 

क्लबका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिगको प्ले अफका लागि आफ्नो तबरबाट तयारी पूरा भएको बताएका छन्।

साउन १ गते प्रशिक्षण थालेको टिमले छोटो समयमै राम्रो तयारी गरिरहेको उनले बताए। 

‘तयारी छोटो भए पनि सिनियर टोलीमा खेलेका धेरै अनभवी खेलाडी भएकाले राम्रो प्रदर्शन गर्नेमा म ढुक्क छु’, प्रशिक्षक महर्जनले भने, ‘राम्रा र खेलीरहेका खेलाडी भएकाले नतिजा राम्रो आउनेमा आशावादी छु। 

उनले विपक्षी भुटानी टोली पारो एफसी पनि उत्तिकै राम्रो भएकाले खेल प्रतिस्पर्धात्मक हुने बताए। 

‘पारोमा विदेशी खेलाडीको संख्या बढी भए पनि आफ्नो टिममा राष्ट्रिय खेलाडी र विदेशी खेलाडीसहित अनुभवी खेलाडी भएकाले चर्च ब्वाइज सन्तुलित छ’ , उनले भने। 

चर्च ब्वाइजले तयारीका क्रममा त्रिभुवन आर्मी फुटबल क्लबसँग २ र नेपाली यू-२० को टोलीसँग तीन मैत्रिपूर्ण खेल खेलेको प्रशिक्षक महर्जनले बताए।

प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्यूनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ।

सो खेलका लागि रंगशालाको साधारण प्यारापिट तर्फको टिकट २०० र भीआइपी प्यारापिटको ५०० रुपैयाँ निर्धारण गरिएको छ।

चर्च ब्वाइजले अनन्त तामाङको कप्तानी र एरिक विष्टको उपकप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेको छ।

चर्च ब्वाइजको टोली

गोलरक्षक-  दीप कार्की, टिकेन्द्र थापा, रेम्बोकुमार चौधरी

डिफेण्डर-  अनन्त तामाङ (कप्तान), करिम ओमोलाजा नुरेन, योगेश गुरुङ, सनिश श्रेष्ठ, एकराज बुढाथोकी, सौभाग्य राई, छिरिङ लामा​

मिडफिल्डर- एरिक विष्ट (उपकप्तान), पिटर बान्डा, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष

फरवार्ड- अञ्जन विष्ट, आयुश घलान, मासेस ग्याबह ट्वाम, निरज चौधरी, सञ्जीव विष्ट, आदित्य शाक्य


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.