|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई ५ सय शय्यामा विस्तार गर्ने भन्दै हरेक प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने घोषणा गरेका छन्।

आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले लामो योजना सार्वजनिक मात्र गरेनन् राजधानी काठमाडौँमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापनाका लागि पहल गर्ने घोषणासमेत गरे।

पत्रकार सम्मेलनमा उनले स्वास्थ्य क्षेत्रमा आफूले गर्न चाहेका कामको कार्य योजना बनाई सार्वजनिक गरे। शुल्क तिर्न नसक्ने गरीब तथा असहायलाई शहीद गंगालालमा प्राथमिक एन्जियोप्लाष्टी र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमार्फत निःशुल्क सेवा दिने घोषणा पनि गरे। 

सातवटै प्रदेशमा अंग प्रत्यारोपणको सेवासमेत विस्तार गरिने उनले बताए।

मन्त्री पौडेलले औषधिको मूल्य लामो समयदेखि समायोजन नभएको भन्दै बढी मूल्य लिइएका औषधिको मूल्य घटाउन आवश्यक प्रबन्ध गर्ने घोषणा गरे।

विदेश जानेको उतै स्वास्थ्य परीक्षण गरिने

वैदेशिक रोजगारीमा जानेको विदेशमै नेपाली दूतावासमार्फत नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिने मन्त्री पौडेलले घोषणा गरे। 

उनले रोजगारीका क्रममा हुने अधिक दुर्घटना र मृत्युको कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर कार्यान्वयन गरिने घोषणासमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.