तत्काल बन्दैन‚ कम्तीमा २ महिना लाग्छ : सडक कार्यालय

|

काठमाडौँ : गत बिहीवार राति महेन्द्र शालिक–कृष्णपाउरोटी सडकखण्डअन्तर्गत काठमाडौँ प्लाजा नजिकको (टुकुचामाथि) सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावत ४ दिनदेखि बन्द छ। भ्वाङ परेको वरिपरि बार लगाइएको छ।

काठमाडौँ महानगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार भासिएको सडकमुनि टुकुचा खोला भेटिएकाले पुरेरमात्र त्यसको व्यवस्थापन हुँदैन। जसका लागि उक्त खोलामाथि पुल बनाउनुबाहेक अर्को विकल्प छैन। 

उनले भने, ‘टुकुचा खोला रहेछ, त्यहीमाथि सडक बनाएकाले भासियो। त्यो सडक बनाउन त्यहाँ पुल बनाउनुबाहेक अरू विकल्प छैन।’ भासिएको सडक क्षेत्र सडक विभागअन्तर्गत परेकाले छिटो व्यवस्थापन गर्न लाग्नुपर्ने महानगरको माग छ। 

ठूलो भ्वाङ परेकाले त्यहाँबाट पैदलयात्रुलाई समेत आवतजावत गर्न जोखिम छ तर भ्वाङ परेको सडकमाथि कल्भर्ट पुल बनाउने योजना बनिसके पनि बनाउन समय लाग्ने सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ।

न्युरोडमा सडक पेटी बढाउने सवालमा काठमाडौँ महानगरपालिकासँग जोरी खोज्ने शैलीमा उत्रिएर तत्कालै सडक पिच गरेको सडक डिभिजन कार्यालय काठमाडौँ टुकुचामा कल्भर्ट बनाउने योजना बनाएको सुनाए पनि बजेट अभाव देखाउँदै टक्टकिएको छ।

सडक डिभिजन काठमाडौँका सूचना अधिकारी महानन्द जोशी भन्छन्, ‘सडक भासिएको ठाउँमा कल्भर्ट पुल बनाउने योजना बनिसकेको छ तर यसको लागि करिब ५० लाख लागत लाग्छ। हामीसँग स्रोत छैन, त्यसैले संघीय सरकारसँग माग गरेका छौँ।’

तर यही सडक डिभिजन कार्यालयले यता बजेट अभाव देखाइरँदा काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक रातदिन नभनी एकैछिन कर्मचारी खटाएर पुरेको मात्र थिएन‚ पिच गर्दै चिल्लो सडक नै बनाएको थियो।

महानगरपालिकाले फुटपाथ सडकलाई पैदलयात्रीमैत्री बनाउन बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि न्युरोडमा काम थालेको थियो।

तर जेठ १२ गते डिभिजन सडक कार्यालय काठमाडौँले अनुमति नलिई सडक खनेको भन्दै भौतिक रूपमा हस्तक्षेप गर्‍याे। सडक डिभिजन काठमाडौँले काम रोक्न जेठ १३ गते र १६ गते गरी २ वटा पत्र पठाएर २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गर्न र नगरेमा कानुनी कारबाही गर्ने चेतावनीसमेत दिँदै धम्क्याएको थियो।

उक्त समयमा महानगरपालिकाले सडक पुनःस्थापना नगरेपछि सडक डिभिजन आफैँले पिच गर्‍यो।

न्युरोड फुटपाथ विवादकै कारण सडक विभागले बिजुलीको पोल पोलमा ‘स.वि.’ (सडक विभाग) लेखेर किल्ला नै छुट्याएपछि सडक विभागको औधी आलोचना भएको थियो। अहिले पुल बनाउन बजेट छैन भनेपछि विभागको चौतर्फी चर्को आलोचना भइरहेको छ।

जाम भएपछि सडक दुईतर्फी नै खोलियो

सडकमा भ्वाङ पर्दा सवारीसाधन अत्यधिक जाम भएपछि हाल एकतर्फी रूपमा सञ्चालित घण्टाघर–गणेशस्थान– कमलादीमोड सडकखण्डबाट दुईतर्फी रूपमा सञ्चालन गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भासिएको सडक पूर्णरूपले सञ्चालन नभएसम्म दुईतर्फी नै सञ्चालन हुनेछ।

सूचनामा भनिएको छ, ‘काठमाडौँ प्लाजा नजिकको (टुकुचामाथि) सडकमा ठूलो खाडल (भ्वाङ) परी सवारीसाधन संचालन नहुने अवस्था भएको साथै महेन्द्र शालिकबाट दक्षिण गेट हुँदै जय नेपालतर्फ सवारीसाधन डाइभर्सन गर्दा सवारीको अत्यधिक चाप बढेको कारण सडक प्रयोगकर्ताहरूलाई समस्या पर्न गएकोले सहज सवारी आवागमनको लागि उपरोक्त सडकखण्ड निर्माण कार्य सम्पन्न भई पूर्णरूपमा संचालन नभएसम्म हाल एकतर्फी रूपमा संचालित घण्टाघर-गणेशस्थान-कमलादी मोड सडकखण्डबाट  दुईतर्फी रूपमा संचालन गर्ने व्यवस्था मिलाइएको व्यहोरा सम्पूर्ण सडक प्रयोगकर्ताहरूमा अनुरोध।’

तत्काल बन्दैन‚ कम्तीमा २ महिना लाग्छ : सडक कार्यालय

सडक डिभिजन काठमाडौँका सूचना अधिकारी जोशीका अनुसार त्यहाँ पुल बनाउन समय लाग्छ। उनले भने, ‘आजभोलिमा पुल निर्माणका लागि सूचना जारी गरेर टेन्डर आह्वान गर्दै छौँ, यसको समय ३२ दिनसम्मै हुन्छ, दिनु पनि पर्छ, त्यसैले यो पुल बनाउन समय लाग्छ, तत्काल बन्दैन।’

सबै प्रकृया पुर्‍याएर पुल निर्माणको काम थाल्न अझै झण्डै २ महिना नै समय लाग्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.