|

काठमाडौँ : शेयर बजारमा हुने कारोबार रकममा सोमवार उच्च रेकर्ड कायम भएको छ। सोमवार नेप्से करिब ७१ अंकले बढ्दा शेयर कारोबार पनि २७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।

पुँजी बजारमा पछिल्ला दिनहरुमा कारोबार रकम बढ्दै गइरहेको छ। आइतवार शेयरबजार कारोबार रकममा राखेको उच्च रेकर्ड सोमवार तोडिएको हो। 

आइतवारको शेयर कारोबारमा २५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमवार उक्त कारोबार रकमलाई तोड्दै उच्च रेकर्ड कायम भएको हो। सोमवार शेयर बजारमा २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 

कारोबारमा नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक ७० दशमलव ८१ अंकले बढेर २ हजार ९३१ दशमलव ६५ बिन्दुमा पुगेको छ। साताको दोस्रो कारोबार दिन नेप्से भने साढे २ प्रतिशत बढेर २९ सय बिन्दुभन्दा माथि  पुगेको हो। 

सेन्सेटिभ इण्डेक्स १० दशमलव ५६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ५ दशमलव ७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४ दशमलव ०६ अंकले बढेको छ।

सोमवार कारोबारमा आएका ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 

कारोबार रकमले नयाँ रेकर्ड बनाउनुको साथै सोमबार ३० महिनायताकै नेप्से परिसूचक पनि माथि पुगेको हो। 

सोमवार कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। सोमवार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। 

जीवन बीमा उपसमूहको परिसूचक ५ दशमलव ८५ प्रतिशत बढेको छ भने वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशत, विकास बैंकको ३ प्रतिशत बढेको छ। 

बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि २ प्रतिशतभन्दा बढीले बढेको छ।

शेयर बजारले कारोबार रकममा रेकर्ड राख्दा ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, भिजन लुम्बिनी ऊर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर‚ जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

तर कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

सोमवार कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्सको १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.