|

सुर्खेत : कर्णालीका तीन जिल्ला मात्र खाद्यान्न आत्मनिर्भर भएको सरकारी तथ्यांकले देखाएको छ। जिल्लामा उत्पादन हुने अन्नले खाना पुग्ने अवस्थामा सुर्खेत, सल्यान र दैलेख मात्र रहेको कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। 

कर्णालीलाई पूर्णरूपमा खाद्यान्नमा आत्मनिर्भर हुन तीन लाख ४४ हजार ३२४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले जानकारी दिए। अन्य सात जिल्लालाई आफ्नै उत्पादनले वर्षभर धान्न सक्ने अवस्था नरहेको पाण्डेले बताए। ९१ हजार ३३ मेट्रिक टन खाद्यान्न उत्पादन हुने सुर्खेत खाद्यान्नमा आत्मनिर्भर छ। सुर्खेतमा चार हजार ८६७ मेट्रिक टन मौज्दात रहने गरेको निर्देशनालयले जनाएको छ।

त्यसैगरी, खाद्यान्नमा आत्मनिर्भर अर्को जिल्ला सल्यान हो। सल्यानमा वार्षिक ४७ हजार ७८८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने भए पनि ५२ हजार ३७४ मेट्रिक टन उत्पादन हुने गरेको छ। पाण्डेका अनुसार दैलेखमा पनि वार्षिक ५६ हजार ८१२ मेट्रिक टन उत्पादन हुन्छ। दैलेखलाई ५० हजार ३६१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ। अन्य सात जिल्ला भने खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन्। 

कति उत्पादन? 

कर्णालीमा गत आर्थिक वर्ष २०८०/८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ।  मन्त्रालयको तथ्यांकअनुसार पाँच लाख ५२ हजार ९३० मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो। 

यहाँ सबै भन्दा बढी मकै उत्पादन हुने गरेको छ। गत आवमा दुई लाख १९ हजार आठ सय दुई मेट्रिक टन मकै उत्पादन भएको छ। त्यसपछि गहुँ उत्पादन एक लाख ५२ हजार ६२१ मेट्रिक टन भएको छ भने धान एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको छ। 

उत्पादनका हिसाबले कर्णालीमा धान उत्पादन तेस्रो नम्बर परेको छ। जौँ ११ हजार पाँच सय ५६ कोदो १६ हजार ३१० फापर तीन हजार ८८ मेट्रिक टन उत्पादन भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। यस्तै, उवा एक हजार ८१९ मेट्रिक टन उत्पादन हुँदा चिनो एक हजार ६८१ मेट्रिक टन, कागुनो ९३६ मेट्रिक टन र लट्टे ४५ मेट्रिक टन उत्पादन भएको छ।

कति अपुग? 

कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ। तथ्याङ्कानुसार प्रदेशमा वार्षिक रूपमा २३ हजार ४३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो। राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ८८ हजार ४१२ छ।

यो संख्यालाई आधार मान्दा कर्णालीमा वार्षिक एकजनालाई २०१ किलो खाद्यान्न आवश्यक पर्छ। कर्णालीमा अहिले वार्षिक तीन लाख २० हजार ८९० मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ। डोल्पामा अहिले पनि वार्षिक पाँच हजार ९९ मेट्रिक टन खाद्यान्न अपुग छ। हुम्लामा आठ हजार ५६५, मुगुमा छ हजार ४३९, जुम्लामा तीन हजार पाँच मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको छ।

सबैभन्दा धेरै कालीकोटमा १० हजार ३१७ मेट्रिक टन वार्षिक रूपमा खाद्यान्न अपुग हुँदा रुकुमपश्चिममा एक हजार ६१५ र जाजरकोटमा चार हजार २९९ सय मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको कृषि विकास निर्देशनालयको तथ्यांक छ। यो वर्ष हुरीबतासका कारण मकैबालीमा र केही जिल्लाको धानबालीमा क्षति भएको तथा भूकम्पका कारण भण्डारण भएको खाद्यान्न क्षति भएका कारण खाद्यान्न बचतमा कमी देखिएको निर्देशनालयले जनाएको छ। 

खाद्यान्न अपुग भएको जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न सहुलियत दरमा खाद्यान्न वितरण गर्दै आएको छ। कम्पनीले बिक्री केन्द्र र डिपो मार्फत खाद्यान्न बिक्री गर्दै आएको हो। कम्पनीको प्रदेश कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार आब २०८०/८१ मा ३७ हजार ८७३ क्विन्टल सुर्खेतबाट मात्र कर्णालीका जिल्लामा ढुवानी भएको छ। नेपालगञ्जबाट कर्णालीमा पठाएको खाद्यान्नको विवरण यसमा उल्लेख नभएको कार्यालयले जनाएको छ। 

हुम्लामा १२ हजार ३६७ क्विन्टल, मुगुमा ५ हजार ४८१ , जुम्लाका ६ हजार १९७, डोल्पामा ३ हजार ३०४, कालिकोटमा २ हजार २२६ र जाजरकोटमा ३ हजार ६४० क्विन्टल खाद्यान्न ढुवानी सुर्खेतस्थित प्रदेश कार्यालयले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.