|

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कदेखि दक्षिण क्षेत्रका र वडा नं. ९ को अटोभिलेज क्षेत्रका बासिन्दालाई पातुखोलामा पुल नहुँदा निकै सकस छ।

खोलो ठूलो आएपछि ५ मिनेटमा पुग्ने ठाउँमा आधा घण्टाभन्दा बढी हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीय खुमबहादुर कुँवरले बताए। उनका अनुसार खोला ठूलो आएमा पातुखोलामा रहेको पश्चिम दाङ जोड्ने पक्की पुलबाट जानुपर्ने बाध्यता छ। ५ मिनेटमा पुग्ने ठाउँमा आधा घण्टा घुमेर जानुपर्ने हुन्छ।

पुलका लागि आफूहरूले माग गर्दै आए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताए। उनले भने, ‘उपमहानगरभित्र त्यो पनि बजारमै बासिन्दाले सास्ती भोग्दा पनि कुनै नेताले ध्यान दिएनन्।’

यसैगरी उनले आफ्ना छोराछोरीहरू मावि सेन्टरमा पढ्ने गरेको भन्दै खोला ठूलो आएमा उनीहरू एक घण्टा हिँडेर विद्यालय जानुपर्ने बाध्यता रहेको बताए। स्थानीयले यस्तो समस्या भोग्दा पनि न स्थानीय सरकारको ध्यान गएको छ, न सङ्घ र प्रदेश सरकारको ध्यान गएको छ।

दैनिक सयौँ मानिस अहिले जोखिम मोलेर खोला पार गर्ने गरेको भन्दै उनले बालबालिका पनि यहीबाट विद्यालयले जाने गरेको हुँदा कुनै दिन घटना भएमा यसको जिम्मेवारी को हुने भन्दै प्रश्न गरे ?

उनले भने, ‘हुनेखानेका छोराछोरी त बसमा विद्यालय जान्छन्, हामी जस्ता निम्न आर्थिक भएका छोराछोरी कि एक घण्टा हिँडेर जानुपर्‍यो कि जोखिम मोलेर जानुपर्‍यो।’

पूर्व राष्ट्रियसभा सदस्य कोमल ओलीको पहलमा २०७७ सालमा अटोभिलेजदेखि २ सय मिटर उत्तरतर्फ तुलसीपुर ५ र ९ नम्वर वडालाई जोड्ने गरी मल्टिस्पान ट्रस ब्रिज बनाउन सर्भे भएको थियो। अहिलेसम्म त्यो काम अघि बढेको छैन। वर्षौंदेखि आफूहरूले यस्तै जोखिम मोलेर खोला तर्ने गरेको वडा नं. ५ की चन्दा गिरीले बताइन्।

उनले आफ्ना सन्तानलाई साँझबिहान छोराछोरीलाई खोला तराउन आउने गरेको बताइन्। उनले भनिन्, ‘हामी ठूला मान्छेलाई त खोला तर्न लाग्दा डर लाग्छ, साना बच्चालाई झनै जोखिम हुन्छ। आकाशमा कालो बादल देखे डर लाग्छ‚ कि घुमेर माथि पक्की पुलबाट लिन जानुपर्‍यो। होइन भने जोखिम उठाएर खोला वारपार गर्नुपर्छ।’

उनका अनुसार खोला तर्दा भिजेका कपडा लगाएर विद्यार्थी विद्यालय जान बाध्य छन्। ठूलो पानी परेका दिन आफ्ना छोराछोरी विद्यालय नजाने गरेको बताइन्। उनले भनिन्, ‘छोराछोरी साना छन्, उनीहरूलाई माथि पक्की पुलबाट लैजाँदा ल्याउन समस्या हुन्छ।’

उपमहानगरका बासिन्दाले यस्तो समस्या भोग्दा पनि उपमहानगरले चासो नदिएको भन्दै दुःख व्यक्त गरिन्। उनले चुनावका वेला मात्र भोट माग्न आउने नेताहरूले जनताले यस्तो समस्या भोगेको देख्दा पनि चासो नदिनु दुःखद रहेको बताइन्।

अहिलेसम्म यो समस्या समाधान गर्न कसैले ध्यान नदिएको उनको गुनासो छ। उनले झोलुंगे पुल बनाइदिए पनि धेरै राहत हुने बताइन्। विद्यार्थीहरूलाई पनि खोला पुल नहुँदा समस्या भइरहेको विद्यार्थी आरएन परियारले बताए। उनी वडा नं. ५ मा बस्छन् भने स्कुल वडा नं. ९ मा रहेको छ।

कक्षा १० मा पढ्दै गरेका उनले अहिलेसम्म यसरी नै खोला तरेर विद्यालय जाने गरेको बताए। उनले भने, ‘माथिबाट घुमेर जाँदा समय धेरै लाग्छ। त्यसैले डराई डराई खोला पार गछौँ। हामीले यस्तो समस्या भोग्न लागेको वर्षौं भए पनि अहिलेसम्म समस्या उस्तै छ।’

तुलसीपुर-५ मा पातुखोलामै रहेको ज्ञानज्योति आधारभूत विद्यालयमा वडा नं. ९ बाट ५०‚ ६० जना विद्यार्थी खोला तरेर आउने गरेको विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले बताए।

यस ठाउँमा पुल नहुँदा समस्या भइरहेको उनको भनाइ छ। पुलका लागि आफूहरूले स्थानीय सरकारसँग पहल गर्दै आइरहेको उनले बताए। विद्यालय स्थापना भएसँगै अहिलेसम्म विद्यार्थीले यस्तै समस्या भोग्दै आएको समेत उनले बताए। उनले भने, ‘बर्खायाममा सबैलाई निकै जोखिम छ। पुल निर्माण भए सबैलाई सहज हुने थियो।’

 ५ मिनेटको दूरीमा विद्यालय भए पनि खोलाका कारण विद्यार्थी करिब एक घन्टा हिँडेर आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.