|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन्।

लोकतन्त्रविरुद्ध सामाजिक बन्धन, नैतिक बन्धन, इमानको बन्धनको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्ति मुलुकमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने भन्नेबारे सरकार सचेत रहेको बताएका हुन्। 

बुधवार प्रतिनिधिसभा बैठकमा मुलुकको समसामयिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उनले यस प्रवृत्तिलाई निस्तेज पार्न सरकार सजग रहेको बताए। 

प्रधानमन्त्री ओलीले केही वाञ्छित उपलब्धि हासिल नभएको भन्दैमा ती विषयलाई अतिरञ्जनाका साथ प्रस्तुत गरेर प्रणालीकै विरुद्ध जाने खालको अभिव्यक्तिहरु सरकारका लागि सैह्‌य नहुने स्पष्ट पारे। 

उनले लोकतान्त्रिक प्रणालीविरुद्ध देखापरेका प्रवृत्तिबाट देशलाई मुक्त गराउन सरकार लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे। 

‘अहिले केही केही प्रवृत्ति देखापर्न खोजेका छन्। लोकतन्त्रको विरुद्धमा अथवा हामीले रोजेर ल्याएर स्थापित गरेको, संघर्ष गरेर, बलिदान गरेर छानेको यस लोकतन्त्रविरुद्ध सामाजिक बन्धन, नैतिकता बन्धन, इमानका बन्धन, यस्ता कुराहरुको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्ति प्रकट भएका छन्‚’ प्रधानमन्त्री ओलीले भने, ‘यसप्रति हामी सजग रहनुपर्छ‚ यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने? त्यस सन्दर्भमा म भन्न चाहन्छु, सिंगै सदनलाई म आश्वस्त पार्न चाहन्छु र देशलाई नै म भन्न चाहन्छु– सरकार यस मामिलामा सजग छ।’

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई अपनाउने सम्बन्धमा राजनीतिक दलहरुबीच फरक मत नभएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.