काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने वेला व्यवस्थामा नै संकट पर्नसक्ने चिन्ता व्यक्त गरेका छन्। अहिले समाजमा अराजकता फैलाउने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
बुधवार प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यता र संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको दावी गरे। उनले एक अर्काप्रति निषेधको नभई हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए।
प्रचण्डले संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्न नसकेको र जनताका आकांक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन गर्न नसकेको बताएका छन्। उनले संविधानको कार्यान्वयनमा एक हुन नसकेको स्वीकार गरे।
उनले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताए।
प्रचण्डले भने, ‘अहिले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने वेला व्यवस्थामा नै संकट पर्ने हो कि भन्ने प्रश्न पनि छ। तपाईंहरूले भनेको जस्तै अहिले समाजमा एउटा प्रवृत्ति देशमा अराजकता फैलाउने, सबै सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोज्दै छ। यसलाई प्रतिवाद गर्न यो परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू, सबै संघसंस्थाहरू लोकतन्त्रप्रति विश्वास गर्नेहरू समझदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता छ। हाम्रो छिमेकतिर राजनीतिक घटनाक्रम जसरी अघि बढेका छन्, ती सबैले हामी सबैलाई निषेधको होइन हातेमालो गरेर यो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने आवश्यकता झन बढेको छ।’
प्रचण्डले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताए। चुनौती सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको उनको कथन छ।
उनले अहिले पनि शहीद परिवारले न्याय पाइसकेको स्थिति नरहेको भन्दै बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताए। उनले शान्तिकोष स्थापना गर्ने कुरा बजेटमार्फत सुनिश्चित गरे पनि वर्तमान सरकारले कार्यान्वयन शुरु नगरेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।