|

काठमाडौँ : नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मानवीय क्षतिका हिसाबले बागमती र गण्डकी प्रदेशले ठूलो पीडा बेहोरेको छ। 

सबै किसिमका विपद्‍मा पछिल्लो २ महिनामा २११ जनाको मृत्यु हुँदा यी दुई प्रदेशमा मात्रै ११६ जनाको मृत्यु भएको छ। यो सात प्रदेशमा भएका विपद्को मानवीय क्षतिको आधाभन्दा बढी हो। 

अझ बेपत्ता हुने अधिकांश बागमती प्रदेशमा भएको विपद्‍मा परेकाहरू हुन्। पछिल्लो २ महिनामा बेपत्ता र मानवीय मृत्युका हिसाबले बागमतीले असह्य पीडा बेहोरेको छ। कुल ४८ जना बेपत्ता भएका मध्ये ४० जना बागमती प्रदेशमा भएको विपद्‍मा परेकाहरू हुन्।

गत जेठ २८ पछि दुई महिनाका मनसुनयन्य घटनाबाट एक सय ७० जना र अन्य विपद्‍बाट ४१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए।

उनका अनुसार त्यसमा मनसुनीविपदसहित आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छ। नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो। प्रवक्ता भट्टराईका अनुसार यसपाली सबैभन्दा बढी क्षति बेहोरेको बागमती र गण्डकीमा ५८/५८ जनाको मृत्यु भएको छ।

यसैगरी, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरपश्चिममा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

यो अवधिमा एक हजार तीन सय ३३ घटना भएकामा तीन हजार ६ सय ४७ परिवार प्रभावित भएका छन्। चार सय पाँचवटा घटना भएको कोशीमा सबैभन्दा बढी एक हजार दुई सय १२ परिवार प्रभावित भएका जनाइएको छ।

यस्तै, मधेशमा पाँच सय १३, बागमतीमा चार सय ७१, गण्डकीमा चार सय ३७, लुम्बिनीमा तीन सय २६, कर्णालीमा दुई सय ४० र सुदूरपश्चिममा चार सय ४८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। 

प्राप्त विवरणअनुसार कोशीमा दुई, बागमतीमा ४०, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एकजना बेपत्ता रहेका छन्। अघिल्लो वर्षभन्दा बढी यस वर्ष मानवीय क्षति हो। अघिल्लो वर्ष सोही अवधिमा विपद्जन्य घटनामा ७२ जनाको मृत्यु भएको थियो। 

पूर्वतयारी, खोज उद्धार तथा सूचना प्रवाहमा समन्वयात्मक रुपमा काम भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए। यस वर्ष औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान अनुसार नै वर्षा भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.