काठमाडौँ : जापानका प्रधानमन्त्री फुमिओ किसिदाले पदबाट राजीनामा दिने भएका छन्। उनले सत्तारुढ दल एलडीपी (लिबरल डेमोक्रेटिक पार्टी) को अध्यक्षमा पुनः निर्वाचित हुने चाहना पनि नराखेको बताएको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
उनले बुधवार एक पत्रकार सम्मेलन गर्दै अर्को महिना प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन्। महँगी बढेको र अनेकौं राजनीतिक काण्डहरुले सरकारप्रति जापानीहरुको बढ्दो वितृष्णा तथा असन्तोषका कारण किसिदाले प्रधानमन्त्रीबाट राजीनामा दिन लागेका हुन्।
‘जनताको विश्वास नभए राजनीति/सरकारले काम गर्न सक्दैन‚’ पत्रकार सम्मेलनमा भने‚ ‘जापानी जनतालाई ध्यानमा राखेर मैले पद त्याग्ने निर्णय लिएको छु र यसबाट राजनीतिक सुधारका काम अघि बढ्ने अपेक्षा राखेको छु।’
अर्को महिना (सेप्टेम्बर)मा एलडीपीले उनको ठाउँमा पार्टीको नयाँ अध्यक्ष चयन गर्नेछ।
सन् २०२१ मा प्रधानमन्त्री नियुक्त किसिदाको लोकप्रियता विवादास्पद युनिफिकेशन चर्चसँग उनको सम्बन्धबारे समाचार सार्वजनिक भएपछि ह्वात्तै खस्किएको थियो।
यसलगत्तै फेरि एलडीपीका लागि चन्दा संकलन अभियानमा उनले अवैध तवरबाट रकम लिएको खुलासा भएपछि जापानीमाझ उनको लोकप्रियता धुलिसात भएको थियो।
यसबाहेक बढ्दो मुद्रास्फितिले दैनिक जीवनयापन खर्चको अनुपातमा ज्याला बढाउन नसकेपछि उनले जापानीहरुको आक्रोशको तारो बन्नु परेको थियो।
उनीपछि हुने प्रधानमन्त्रीले एलडीपीमाथि जापानीहरुको विश्वास जित्न र अकाशिँदो दैनिक जीवनयापन खर्च नियन्त्रण गर्नुका साथै चीनसँग बढ्दो तनाव व्यवस्थापन गर्नुपर्नेछ।
यससँगै उनका उत्तराधिकारीले यसै वर्षको अन्त्यमा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पले जितेमा अमेरिकासँगको सम्बन्धमा पनि चुनौतीको सामना गर्नुपर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।